मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सगरमाथा र लोत्से आरोहण गर्ने महिला सशस्त्र प्रहरी सम्मानित

767
SHARES
सगरमाथा र लोत्से आरोहण गर्ने महिला सशस्त्र प्रहरी सम्मानित

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल लोत्सेको सफल आरोहण गर्ने सशस्त्र प्रहरी बल नेपालका दुई महिला कर्मचारीलाई विशेष सम्मान गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक, स्वयम्भूमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा तथा सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरेका हुन् ।

सम्मान समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक पौडेलले सगरमाथा र लोत्सेजस्ता कठिन हिमालको सफल आरोहणले सिंगो सशस्त्र प्रहरी संगठनको प्रतिष्ठा उचो बनाएको बताए । उनले हिमालको चुचुरोमा राष्ट्रिय झण्डासँगै संगठनको झण्डा फहराउनु गौरवपूर्ण उपलब्धि भएको उल्लेख गरे ।

उनका अनुसार यस्तो साहसिक कार्यले संगठनभित्र कार्यरत सुरक्षाकर्मीहरूमा आत्मविश्वास, प्रेरणा र उत्साह थप्ने काम गरेको छ । उनले हिमाली क्षेत्रमा सुरक्षाकर्मीको दक्षता अभिवृद्धि गर्न सशस्त्र प्रहरीले विशेष प्राथमिकताका साथ तालिम तथा उद्धार कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

महानिरीक्षक पौडेलले मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयमार्फत उच्च हिमाली तथा दुर्गम क्षेत्रमा खोज, उद्धार र सीमा सुरक्षासम्बन्धी तालिम सञ्चालन भइरहेको उल्लेख गर्दै त्यसले सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन तथा हिमाली सुरक्षामा थप सक्षम बनाएको बताए ।

कार्यक्रममा सम्मानित आरोहीहरूले सगरमाथा र लोत्से सफलतापूर्वक आरोहण गर्न पाउनु आफ्नो जीवनकै महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका थिए । उनीहरूले कठिन यात्राका क्रममा साथ, सहयोग र समन्वय गर्ने सशस्त्र प्रहरी बल नेपालसहित सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरे ।

सहायक हवल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्यसैगरी सहायक निरीक्षक निम दिकी शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेकी थिइन् ।

सशस्त्र प्रहरी बल नेपालको इतिहासमा संगठनको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही बनेका छन् । उनीहरूको सफलताले महिला सुरक्षाकर्मीको क्षमता, नेतृत्व र साहसलाई नयाँ उचाइमा पुर्‍याएको विश्वास गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ८, शुक्रबार १२:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP