मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रामेछापमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण सुरु

1.6K
SHARES
रामेछापमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण सुरु

रामेछाप । जिल्लामा अब नागरिकले वडा कार्यालयमै पुगेर राष्ट्रिय परिचय पत्र (डिजिटल आईडी) लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबारदेखि वडास्तरमै पुगेर परिचय पत्र वितरण गर्न सुरु गरेको हो ।

सरकारी सेवा लिने पूर्वशर्त बन्दै गइरहेको राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन प्रशासन आफैँ वडामा पुगेर कार्ड वितरण र फोटो खिच्ने कार्य थालेको हो । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्यामकृष्ण थापाका अनुसार यो अभियान जिल्लाभर सञ्चालन हुनेछ ।

पहिलो चरणमा सुनापति गाउँपालिका–५ बाट अभियानको थालनी गरिएको छ । त्यहाँ दुई हजार दुई सय कार्ड वितरण गरिनेछ । ‘हामी नागरिकको घरदैलोमा सेवा पुर्याउन चाहन्छौं,’ थापाले भने, ‘यसलाई राष्ट्रिय कार्यक्रम भन्न नमिल्ने भए पनि रामेछापमा पहिलोपटक यस्तो अभ्यास थालिएको हो ।’

प्रजिअ थापाका अनुसार एउटा वडामा कम्तीमा दुई दिन बिताएर अफलाइन फोटो खिच्ने र पहिल्यै बनेर आएका डिजिटल कार्ड वितरण गर्ने कार्य एकैसाथ गरिनेछ ।

बुधबार सुनापति–५ को भीरकोटस्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा प्रजिअ थापासहित गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठ, वडा अध्यक्ष चित्रबहादुर मानन्धरलगायतको सहभागिता रहेको थियो ।

सुनापति गाउँपालिकाभित्र १० दिनभित्र अभियान सम्पन्न गरिने र त्यसपछि रामेछाप नगरपालिका हुँदै अन्य पालिकामा क्रमशः विस्तार गरिने प्रजिअ थापाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म १७ हजार नागरिकका डिजिटल परिचय पत्र बनेका छन्, जुन यस अभियानमार्फत वितरण गरिनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ८, बिहीबार ०४:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP