मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रियसभा बैठक बस्दै, तीन महत्वपूर्ण विधेयक कार्यसूचीमा

169
SHARES
राष्ट्रियसभा बैठक बस्दै, तीन महत्वपूर्ण विधेयक कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विभिन्न विधेयक पेस गर्नुका साथै प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यक्रम छ । यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष प्रस्तुत गर्नेछन् ।

त्यसैगरी कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सात संसदीय समितिमा पनि छलफल
राष्ट्रियसभा बैठकसँगै आज संसद्का विभिन्न सात विषयगत समितिका बैठक पनि बस्दैछन् ।

बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका तथा आयोगका सिफारिस कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ ।

कानुन, न्याय तथा मानव अधिकार समितिमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकार अवस्थाबारे अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन पेस गरी छलफल गरिनेछ ।

महिला तथा सामाजिक मामिला समितिले बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह तथा वृद्धाश्रमको संस्थागत अवस्था र अनुगमनबाट प्राप्त निष्कर्षमाथि छलफल गर्नेछ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्ने कार्यक्रम छ ।

अपराह्न १ः०० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न उजुरीमाथि छलफल गरिनेछ ।

यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिले विगतका कोप सम्मेलनमा भएका निर्णय तथा सम्झौताको कार्यान्वयन अवस्थाबारे जानकारी लिनुका साथै आगामी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ का लागि नेपालको तयारीबारे सरकारी अधिकारीसँग छलफल गर्नेछ ।

यसका अतिरिक्त उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आजै बस्ने संसद् सचिवालयले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २७, बुधबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP