मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसद् अवरोध आज पनि जारी, गृहमन्त्रीमाथिको छानबिन माग यथावत्

1.7K
SHARES
संसद् अवरोध आज पनि जारी, गृहमन्त्रीमाथिको छानबिन माग यथावत्

काठमाडौं — भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै प्रमुख विपक्षी दलहरुले संसद् अवरोधलाई बुधबार पनि निरन्तरता दिने भएका छन् । संसद्को गतिरोध अन्त्य गर्न सत्तारूढ पक्षले संवादको संकेत गरे पनि विपक्षीहरु समितिको मागमा अडिग देखिएका छन् ।

बुधबार बिहान संसद् बैठक सुरु हुनु अगाडि संसद् भवन नयाँ बानेश्वरमा प्रमुख विपक्षी दलहरुबीच रणनीतिक छलफल भएको थियो । छलफलमा माओवादी केन्द्रका नेता वर्षमान पुन, हितराज पाण्डे, सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे लगायत सहभागी थिए । छलफलपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकार समिति गठनमा गम्भीर नभएसम्म विरोध कायमै रहने बताए ।

‘सरकार जनताको संवेदनशील विषयमा लुकछिप गरिरहेको छ,’ उनले भने, ‘समिति नबनेसम्म हामी संसद् चल्न दिने छैनौं ।’ उनका अनुसार भिसा प्रकरणले नेपालको आन्तरिक सुरक्षासँग जोडिएको संवेदनशीलता देखाउँछ, जसको गहिरो छानबिन आवश्यक छ ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । तर विपक्षी दलहरुले बैठक अवरुद्ध गर्ने तयारी गरेकाले सामान्य कार्यसूची अघि बढ्न कठिन देखिन्छ । जेठ १३ गतेदेखि सुरु भएको यो संसद् अवरोधको असर विधेयक पास, बजेट छलफलजस्ता महत्वपूर्ण प्रक्रियामा पनि देखिन थालेको छ ।

गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले भनेका छन्, ‘मैले कुनै अवैध कार्यमा संलग्न भएको छैन, सबै कुरा कानुनी प्रक्रियाअनुसार भइरहेको छ ।’ यद्यपि, विपक्षी दलहरु गृहमन्त्रीको वक्तव्यबाट सन्तुष्ट छैनन् र स्वतन्त्र छानबिनको माग गरिरहेका छन् ।

सत्तारूढ गठबन्धनभित्र पनि यस विषयमा मतभेद देखिन थालेका छन् । केही सांसदहरुले संसद् स्थगन भइरहँदा जनताका सरोकारका विषय ओझेलमा परेको भन्दै समाधान खोज्न सरकारलाई सक्रिय हुन आग्रह गरेका छन् ।

यदि समिति गठनमा सहमति हुन सकेन भने संसद् गतिरोध अझ लम्बिने संकेत देखिएको छ । यो गतिरोधले बजेट अधिवेशन नै प्रभावित हुने जोखिम पनि बढेको विश्लेषकहरुले चेतावनी दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ २८, बुधबार ०७:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP