मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देउवा पक्षले आजदेखि छुट्टै कांग्रेस अधिवेशन प्रक्रिया थाल्दै

416
SHARES
देउवा पक्षले आजदेखि छुट्टै कांग्रेस अधिवेशन प्रक्रिया थाल्दै

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि छुट्टै अधिवेशन प्रक्रिया अघि बढाउँदै छ । संस्थापन पक्षले महाधिवेशनको तयारी तीव्र बनाइरहेका बेला देउवा पक्षले आफ्नै कार्यतालिकाअनुसार बिहीबारदेखि वडा अधिवेशन सुरु गर्न लागेको हो ।

देउवा पक्षले असोज १५ गते देशभर वडा अधिवेशन गर्ने तयारी गरेको जनाएको छ । त्यसपछि असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ ।

त्यसैगरी कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी देउवा पक्षको छ । अन्तिम चरणमा मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

संस्थापन पक्षले भने असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी अघि बढाइरहेको छ । यससँगै कांग्रेसभित्र एउटै महाधिवेशनका लागि दुई पक्षबाट छुट्टाछुट्टै प्रक्रिया अघि बढेको अवस्था बनेको छ ।

देउवा पक्षले महाधिवेशनको तयारीका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत तथा विभिन्न जिल्लामा संयोजक खटाएको जनाएको छ। वडा अधिवेशन सम्पन्न गर्न मात्रै ५६ जिल्लामा निर्वाचन संयोजक परिचालन गरिएको बताइएको छ ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले तत्काल महाधिवेशन गर्न नहुने पक्षमा देउवा समूह रहँदै आएको थियो । तर संस्थापन पक्षले आफ्नो कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्षले पनि समानान्तर रूपमा छुट्टै प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई नै कांग्रेसको आधिकारिक कार्यसमिति मान्दै आएको छ । यही कारण संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा देउवा समूह सहभागी भएको छैन ।

देउवा पक्षका महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले वडा तहदेखि नै पार्टी संगठनलाई सुदृढ, अनुशासित र जनमुखी बनाउनुपर्ने बताएका छन् । उनले वडा अधिवेशनमा नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई उत्साहपूर्वक सहभागी हुन आह्वान गरेका छन् ।

कांग्रेसभित्र देखिएको विवादका बीच दुवै पक्षले आ–आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाएपछि आगामी दिनमा पार्टीको संगठनात्मक संरचना र आधिकारिकतासम्बन्धी विषय थप महत्वपूर्ण बन्ने देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १५, बिहीबार ०६:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP