मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गाईजात्रा आज, दिवङ्गत आफन्तको सम्झनासँगै सामाजिक विकृतिमाथि व्यङ्ग्य

416
SHARES
गाईजात्रा आज, दिवङ्गत आफन्तको सम्झनासँगै सामाजिक विकृतिमाथि व्यङ्ग्य

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइँदैछ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व विशेषगरी दिवङ्गत आफन्तको सम्झना र सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्ने पर्वका रूपमा परिचित छ ।

गाईजात्राका अवसरमा एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने परम्परा छ । नगर परिक्रमा गराइएका गाईलाई श्रद्धालुले दुध, फलफूल, रोटी, चिउरा, दही, अन्न तथा द्रव्य दान गर्ने चलन रहेको छ ।

धार्मिक मान्यताअनुसार गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सकिन्छ भन्ने विश्वास छ । त्यसैले दिवङ्गत आफन्तको आत्माको शान्ति र सद्गतिको कामना गर्दै परिवारजनले गाईजात्रामा सहभागिता जनाउने गर्छन् ।

गाईजात्राको ऐतिहासिक सम्बन्ध राजा प्रताप मल्लको पालासँग जोडिएको छ । पुत्रशोकमा रहेकी रानीलाई संसारमा मृत्यु र शोक सबैले भोग्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले यो पर्व सुरु गराएको ऐतिहासिक मान्यता छ । रानीको शोक कम नभएपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम आयोजना गर्न आदेश दिइएको र त्यसैबाट गाईजात्रामा हास्यव्यङ्ग्य प्रस्तुत गर्ने परम्परा विकसित भएको जनश्रुति छ ।

यस पर्वमा मृत आफन्तको सम्झनामा गाईजात्रा निकाल्नुका साथै विभिन्न सांस्कृतिक झाँकी, नाचगान, प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम आयोजना गरिन्छ । समाजमा रहेका विकृति, विसङ्गति र बेथितिमाथि व्यङ्ग्य गर्ने अवसरका रूपमा पनि गाईजात्रालाई लिने गरिन्छ ।

भाद्र कृष्णाष्टमीसम्म चल्ने पर्वका क्रममा रामायणका करुण रसका गीत गाउने तथा दिवङ्गत व्यक्तिको सम्झनामा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि गर्ने परम्परा पनि छ । यसले एकातिर मृत आफन्तप्रति श्रद्धाञ्जली व्यक्त गर्ने अवसर प्रदान गर्छ भने अर्कोतर्फ समाजमा रहेका विकृतिमाथि हास्यव्यङ्ग्यका माध्यमबाट प्रश्न उठाउने अवसरसमेत दिन्छ ।

गाईजात्रा काठमाडौं उपत्यकामा विशेष रौनकका साथ मनाइन्छ । हनुमानढोकास्थित राजप्रासाद क्षेत्र हुँदै गाईजात्रा निकाल्ने पुरानो परम्परा अहिले पनि कायम छ । उपत्यकाका विभिन्न स्थानमा आज परम्परागत वेशभूषा, झाँकी, बाजागाजा र सांस्कृतिक प्रस्तुतिसहित जात्रा निकालिँदैछ ।

उपत्यकाबाहेक बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको उल्लेख्य बसोबास रहेका शहरमा पनि गाईजात्रा विशेष उत्साहका साथ मनाइन्छ ।

गाईजात्राका अवसरमा हास्य कलाकारले समेत विशेष कार्यक्रम आयोजना गर्ने गरेका छन् । समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक विषयलाई हास्यव्यङ्ग्यका माध्यमबाट प्रस्तुत गर्ने भएकाले गाईजात्रा नेपाली समाजमा मनोरञ्जनसँगै आलोचनात्मक चेतना अभिव्यक्त गर्ने महत्वपूर्ण सांस्कृतिक अवसरका रूपमा स्थापित छ । तर यसपटक रसुवा बाढीका कारण कतिपय विशेष कार्यक्रम स्थगित भएको छ ।

यस वर्ष गाईजात्रा शनिबारकै दिन परेको छ । सरकारले काठमाडौं उपत्यकामा गाईजात्राका अवसरमा सार्वजनिक बिदा दिने गरे पनि पर्व यस वर्ष शनिबार परेको हुँदा छुट्टै सार्वजनिक बिदा आवश्यक नपरेको हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १३, शनिबार ००:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP