मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नयाँ करदाता पोर्टल सार्वजनिक, अब भ्याट विवरण आफैं सच्याउन सकिने

741
SHARES
नयाँ करदाता पोर्टल सार्वजनिक, अब भ्याट विवरण आफैं सच्याउन सकिने

काठमाडौं । आन्तरिक राजस्व विभागले करसम्बन्धी सेवा थप सहज, प्रविधिमैत्री र करदातामैत्री बनाउने उद्देश्यले नयाँ संस्करणको करदाता पोर्टल सञ्चालनमा ल्याएको छ ।

विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले सोमबार आयोजित कार्यक्रममा अद्यावधिक गरिएको पोर्टल सार्वजनिक गरेका हुन् । पुरानो प्रणाली झन्झटिलो र समयखर्चिलो रहेको भन्दै विभागले लामो समयदेखि पोर्टल सुधारको काम अघि बढाउँदै आएको थियो ।

नयाँ पोर्टलमा करदाताले अनलाइनबाटै विभिन्न विवरण रुजु तथा सच्याउन सक्ने व्यवस्था गरिएको छ । यसअघि अन्तःशुल्क बुझाउने प्रतिष्ठानले मासिक रूपमा बुझाउने अन्तःशुल्क विवरणको रुजु आन्तरिक राजस्व कार्यालयबाट हुने गरेकोमा अब करदाताले आफैं रुजु गर्न सक्ने भएका छन् ।

त्यस्तै, आय विवरण डे–४ अन्तर्गत अनुसूची–१० मा करदाताले आफैं विवरण भर्नुपर्ने व्यवस्थालाई हटाएर आवश्यक विवरण स्वतः प्रणालीमा आउने व्यवस्था गरिएको विभागले जनाएको छ ।

स्रोतमा कर कट्टीसम्बन्धी विवरण पनि अब मासिक रूपमा प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ । यसबाट आयकर कट्टी गरे पनि समयमा रकम दाखिला नगर्ने समस्या पहिचान गर्न सहयोग पुग्ने विभागको अपेक्षा छ ।

महानिर्देशक भुसालका अनुसार स्रोतमा कट्टी भएको रकम समयमै प्रणालीमा देखिनुपर्नेछ । अर्को महिनाको २५ गतेसम्म पनि रकम प्रणालीमा नदेखिए सम्बन्धित करदाताले रकम रोकिएको कारणबारे सम्बन्धित पक्षसँग प्रश्न गर्न सक्नेछन् ।

नयाँ पोर्टलमार्फत विदेशी लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान) दर्ताका लागि अनलाइन आवेदन दिन सक्ने सुविधा पनि थपिएको छ । यसअघि यस्तो सुविधा उपलब्ध थिएन ।

करदाताले आफ्नो लगइनमार्फत प्यान, दर्ता प्रमाणपत्र, प्यान कार्ड, अन्तःशुल्क इजाजतपत्र तथा करचुक्ता प्रमाणपत्रलगायत कागजात डाउनलोड गर्न सक्ने व्यवस्था पनि नयाँ पोर्टलमा गरिएको छ ।

यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) विवरणमा भएको त्रुटि करदाताले आफैं सच्याउन सक्ने सुविधा पनि थपिएको छ । अब भ्याट विवरण पेश गरेको सात दिनभित्र सामान्य त्रुटि भए करदाताले घरमै बसेर संशोधन गर्न सक्नेछन् ।

यसअघि विवरण प्रविष्ट भइसकेपछि सामान्य अंकगत त्रुटि सच्याउनसमेत कर कार्यालय पुग्नुपर्ने र लामो समय लाग्ने समस्या थियो । नयाँ व्यवस्थाले करदाताको समय बचत गर्नुका साथै कर कार्यालयमा हुने भीड कम गर्न सहयोग पुग्ने विभागको विश्वास छ ।

भुसालले नयाँ पोर्टल अहिले एक महिनासम्म परीक्षणका रूपमा सञ्चालन हुने जानकारी दिए । परीक्षण अवधिमा प्राविधिक वा प्रयोगसम्बन्धी सामान्य समस्या आउन सक्ने भन्दै विभागले त्यसप्रति आवश्यक तयारी गरेको उनको भनाइ छ ।

आन्तरिक राजस्व विभागले २०७८ सालदेखि नै करदाता पोर्टललाई अद्यावधिक गर्ने प्रक्रिया सुरु गरेको थियो । करिब पाँच वर्षपछि पोर्टलको नयाँ संस्करण सार्वजनिक गरिएको हो ।

विभागले चालु आर्थिक वर्षलाई ‘ट्याक्स जस्टिस’को वर्षका रूपमा अघि बढाएको छ । कर प्रणालीमा अनुपालनलाई प्राथमिकता दिँदै अनलाइन तथा कार्यालयबाट उपलब्ध हुने सेवाहरूलाई थप प्रभावकारी र सहज बनाउने नीति लिइएको भुसालले बताए ।

भुसालका अनुसार विभागले हरेक महिना ‘वान स्टेप फरवार्ड, वान स्टेप अपवार्ड’को नीतिअनुसार करदाता सेवा सुधार गर्दै जाने लक्ष्य राखेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ९, मंगलवार ०९:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP