मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेस्सीको शानदार फ्री–मेस्सीको छैटौँ गोलसँगै अर्जेन्टिनाको शतप्रतिशत नतिजा, अब केप भर्डसँग भेट

923
SHARES
मेस्सीको शानदार फ्री–मेस्सीको छैटौँ गोलसँगै अर्जेन्टिनाको शतप्रतिशत नतिजा, अब केप भर्डसँग भेट

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गर्दै शतप्रतिशत जितसहित समूह ‘जे’ को विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेको छ ।

अमेरिकाको टेक्सासमा आइतबार भएको खेलमा मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले टोलीमा नौ परिवर्तन गरेका थिए । यसअघि अस्ट्रियाविरुद्ध खेलेको टोलीबाट गोलरक्षक एमिलियानो मार्टिनेज र फरवार्ड लाउटारो मार्टिनेज मात्र सुरुआती रोजाइमा परेका थिए । कप्तान लियोनेल मेस्सीलाई विश्राम दिइएको थियो र उनी दोस्रो हाफमा बेन्चबाट मैदान प्रवेश गरेका थिए ।

अर्जेन्टिनाले खेलको १९औँ मिनेटमा जियोभानी लो सेल्सोको उत्कृष्ट फ्रिकिक गोलमार्फत अग्रता लिएको थियो । त्यसपछि भिडियो सहायक रेफ्री (भिएआर) को समीक्षा पछि प्राप्त पेनाल्टीलाई लाउटारो मार्टिनेजले गोलमा परिणत गर्दै पहिलो हाफमै टोलीलाई २–० को सहज अवस्थामा पुर्‍याए ।

दोस्रो हाफको ५५औँ मिनेटमा जोर्डनका मुसा अल–तमारीले नजिकको दूरीबाट गोल गर्दै अन्तर घटाए । त्यसको केही मिनेटपछि दर्शकहरूको ठूलो हुटिङबीच ३९ वर्षीय कप्तान मेस्सी मैदान प्रवेश गरेका थिए ।

खेलको ८०औँ मिनेटमा अर्जेन्टिनाले डी–बक्स बाहिर फ्रिकिकको अवसर पायो । उक्त अवसरलाई मेस्सीले आकर्षक प्रहारमार्फत सदुपयोग गर्दै बल सिधै जाली चुमाए र अर्जेन्टिनाको ३–१ को जित पक्का गरे ।

यो जारी विश्वकपमा मेस्सीको छैटौँ गोल हो । यसअघि उनले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका थिए भने अस्ट्रियाविरुद्ध दुई गोल गरेका थिए । यससँगै विश्वकप इतिहासमा मेस्सीको कुल गोल संख्या १९ पुगेको छ । उनी हाल प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।

अर्जेन्टिनाले समूह चरणमा अल्जेरियालाई ३–० र अस्ट्रियालाई २–० ले पराजित गरेको थियो । तीनै खेल जित्दै उसले नौ अंकसहित समूह ‘जे’को शीर्ष स्थान सुरक्षित गरेको हो ।

अब साविक विजेता अर्जेन्टिनाले जुलाई ४ मा मियामीमा हुने अन्तिम ३२ को खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डसँग प्रतिस्पर्धा गर्नेछ । लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिना सन् १९६२ मा ब्राजिलपछि लगातार विश्वकप जित्ने पहिलो टोली बन्ने अभियानमा छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १४, आईतवार ०४:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP