मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस एकतामा जोड, देउवालाई अभिभावकीय भूमिका रहन आग्रह

1.8K
SHARES
कांग्रेस एकतामा जोड, देउवालाई अभिभावकीय भूमिका रहन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीको एकता र सद्भाव कायम राख्न सबै तहका नेता–कार्यकर्तालाई अपिल गरेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई औपचारिक मान्यता दिएपछि आज नयाँ बानेश्वरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले कांग्रेसका अगाडि चुनौतीहरू गम्भीर रहेको उल्लेख गर्दै एकतामै केन्द्रित हुने निष्कर्षमा बैठक पुगेको बताए । आगामी निर्वाचनको तयारी र जनतासँग पार्टीलाई थप सशक्त रूपमा जोड्ने उद्देश्यले एकता अपरिहार्य भएको उनको भनाइ छ ।

“जनतासँग नेपाली कांग्रेसलाई अझ मजबुत रूपमा जोड्नु छ, निर्वाचनको समय पनि नजिकिँदै छ,” चालिसेले भने, “त्यसैले पार्टीको एकता र आपसी सद्भावलाई सुदृढ गर्दै संगठनलाई उचाइमा पुर्‍याउन हार्दिक अपिल गर्ने निर्णय भएको छ ।”

बैठकले निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि पार्टी सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ । साथै, निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीभित्र अभिभावकीय भूमिकामा रहन आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रवक्ता चालिसेले देउवाले लामो समयसम्म पार्टीलाई दिएको योगदान र नेतृत्वको उच्च मूल्याङ्कन गरिएको जानकारी दिँदै आगामी दिनमा पनि उनको मार्गदर्शन पार्टीका लागि महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

यसैबीच, प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय नजिकिँदै गएको सन्दर्भमा कांग्रेस उम्मेदवार चयन प्रक्रियामा जुटिसकेको पनि बैठकले जनाएको छ । पार्टीले संगठन सुदृढीकरण र निर्वाचन तयारीलाई सँगसँगै अघि बढाउने रणनीति लिएको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ३, शनिबार ०८:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP