मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भुर्तेलको विस्फोटक शतकमा चीनमाथि नेपालको २२१ रनको ऐतिहासिक जित

689
SHARES
भुर्तेलको विस्फोटक शतकमा चीनमाथि नेपालको २२१ रनको ऐतिहासिक जित

काठमाडौं । सिंगापुरमा जारी एसियाली खेलकुद क्रिकेट छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुआत गरेको छ ।

आइतबार बिहान सिंगापुर नेसनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले प्रस्तुत गरेको ३१४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा मात्र ९२ रन बनाएर अलआउट भयो । नेपालका बलरहरूले सुरुदेखि नै दबाब सिर्जना गर्दै चीनलाई खेलमा फर्किने कुनै अवसर दिएनन् ।

चीनलाई सस्तैमा समेट्ने क्रममा कुशल मल्लले १.२ ओभरमा एक मेडनसहित ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे भने नन्दन यादवले १ विकेट लिए । चीनका लागि सेनजियान झेङले ३१ रन बनाउँदै केही प्रतिरोध गरे पनि टोलीलाई ठूलो हारबाट जोगाउन सकेनन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल स्कोर खडा गरेको थियो । यो नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको दोस्रो ठूलो योगफल हो ।

नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेल चम्किए । उनले मात्र ४३ बलमा ५ चौका र १६ छक्काको मद्दतले १२९ रनको विस्फोटक इनिङ्स खेले । भुर्तेलले ३५ बलमै शतक पूरा गर्दै टी–२० अन्तर्राष्ट्रियमा नेपाली ब्याटरद्वारा बनाइएको उत्कृष्ट इनिङ्समध्ये एक प्रस्तुत गरे ।

भुर्तेल र कुशल मल्लबीच दोस्रो विकेटका लागि १७५ रनको साझेदारी भयो, जुन नेपालका लागि दोस्रो विकेटमा भएको नयाँ कीर्तिमानी साझेदारी हो । यसअघि सन् २०१९ मा पारस खड्का र आरिफ शेखले सिंगापुरविरुद्ध १४५ रनको अविजित साझेदारी गरेका थिए ।

अविजित रहेका कुशल मल्लले ४७ बलमा ९५ रन बनाए भने कप्तान रोहित पौडेलले १९ बलमै ६९ रनको आक्रामक इनिङ्स खेल्दै नेपालको स्कोरलाई ३०० रन पार पुर्‍याए ।

यस खेलसँगै कुशल भुर्तेल नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ७७ खेलमा ९९ छक्का पूरा गरेका छन् । यसअघि यो कीर्तिमान दीपेन्द्रसिंह ऐरीको नाममा रहेको थियो, जसले ८९ छक्का प्रहार गरेका थिए ।

नेपालले प्रतियोगिताको सुरुआती खेलमै ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दाबेदारीलाई बलियो बनाएको छ ।

एकै ओभरमा भुर्तेलको ६ छक्का
नेपाली ओपनर कुशल भुर्तेलले चीनविरुद्धको खेलमा अविश्वसनीय ब्याटिङ प्रदर्शन गर्दै एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका छन् ।

नेपालको इनिङ्सको नवौं ओभरमा बलिङ गर्न आएका चेन झुउमाथि भुर्तेल पूर्ण रूपमा हाबी बने। उनले ओभरका सबै ६ वैध बललाई सीमारेखापार पठाउँदै लगातार ६ छक्का प्रहार गरे ।

उक्त ओभरमा एक वाइड बलसमेत भएकाले नेपालले कुल ३७ रन जोड्न सफल भयो । भुर्तेलको यो आक्रामक प्रदर्शनले नेपाली समर्थकलाई उत्साहित बनाउनुका साथै चीनका बलरहरूलाई दबाबमा पार्यो ।

भुर्तेलको विस्फोटक ब्याटिङकै बलमा नेपालले विशाल स्कोरतर्फ लय समातेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १७, आईतवार ०६:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP