मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोमाञ्चक भिडन्तमा इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित

1.7K
SHARES
रोमाञ्चक भिडन्तमा इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकपअन्तर्गत आइतबार भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भएको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको छ । अन्तिम ओभरसम्म जितको आशा कायम राखेको नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि खेल आफ्नो पक्षमा पार्न सकेन ।

इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा आवश्यक रन पूरा गर्न नसक्दा नेपालले जित गुमाउनुपर्‍यो, तर खेलभरि देखाएको आत्मविश्वास र आक्रामक ब्याटिङले नेपाली समर्थकको मन जित्न सफल भयो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रनको योगदान दिए । २९ बलको सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गर्दै पारी सम्हाले । लोकेश बमले २० बलमा ३९ रन बनाउँदै खेलमा रोमान्च थपे । कप्तान रोहित पौडेलले पनि ३४ बलमा ३९ रन जोड्दै टोलीलाई जित नजिक पुर्‍याउने प्रयास गरे ।

इंग्ल्याण्डको बलिङतर्फ लियाम डसनले २ विकेट लिए भने साम करन, विल ज्याक्स, ल्युल वूड र जोफ्रा आर्चरले समान १–१ विकेट हात पारे । अन्तिम ओभरमा इंग्ल्याण्डका बलरहरूले दबाब कायम राख्न सफल भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । ज्याकब बेथेलले ३५ बलमा ५५ रन बनाउँदै इंग्ल्याण्डको पारीको नेतृत्व गरे । ह्यारी ब्रुकले ३२ बलमा ५३ रन जोडे भने विल ज्याक्सले १८ बलमै ३९ रनको विस्फोटक पारी खेले ।

नेपालको बलिङतर्फ नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए । सन्दीप लामिछाने र शेर मल्लले पनि १–१ विकेट हात पार्दै इंग्ल्याण्डलाई ठूलो स्कोरबाट रोक्ने प्रयास गरे ।

टी–२० विश्वकपमा नेपाल समूह ‘सी’मा रहेको छ । यस समूहमा नेपालसँगै इंग्ल्याण्ड, वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् ।

बलियो टोलीविरुद्ध देखाएको यो प्रदर्शनले आगामी खेलहरूका लागि नेपाललाई थप आत्मविश्वास दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २५, आईतवार १४:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP