मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारत–श्रीलंकामा संयुक्त रूपमा आईसीसी टी–२० विश्वकप सुरु हुँदै

1.8K
SHARES
भारत–श्रीलंकामा संयुक्त रूपमा आईसीसी टी–२० विश्वकप सुरु हुँदै

काठमाडौं । विश्व क्रिकेटको महाकुम्भ मानिने आईसीसी पुरुष टी–२० विश्वकप आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । प्रतियोगिताका खेल भारतका पाँच शहरका पाँच रंगशाला र श्रीलंकाका दुई शहरका तीन मैदानमा सञ्चालन हुनेछन् ।

यस संस्करणको विश्वकपमा कुल ५५ खेल खेलाइनेछ । भारततर्फ अहमदाबादको नरेन्द्र मोदी स्टेडियम, कोलकाताको इडेन गार्डेन, दिल्लीको अरुण जेट्ली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र चेन्नईको एमए चिदम्बरम स्टेडियममा खेल हुनेछन् । यस्तै, श्रीलंकामा कोलम्बोस्थित आर. प्रेमादासा स्टेडियम र एसएससी क्रिकेट मैदान तथा क्यान्डीको पालकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम प्रतियोगिताका केन्द्र रहनेछन् ।

आज विश्वकपको पहिलो दिन तीन खेल आयोजना हुँदैछन् । उद्घाटन खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी मैदानमा पाकिस्तान र नेदरल्यान्ड्सबीच बिहान ११ः१५ बजे सुरु हुनेछ ।

भारतमा आज दुई खेल हुनेछन् । कोलकाताको इडेन गार्डेनमा समूह ‘सी’ अन्तर्गत स्कटल्यान्ड र वेष्ट इण्डिज आमनेसामने हुनेछन् । यो समूहमा नेपाल पनि रहेको छ । दुई पटक विश्वकप विजेता वेष्ट इण्डिज अनुभवी टोली हो भने स्कटल्यान्ड अन्तिम समयमा विश्वकपमा स्थान बनाएको टोली हो । सुरक्षा कारण देखाउँदै बंगलादेशले भारत भ्रमण अस्वीकार गरेपछि आईसीसीले वरियताका आधारमा स्कटल्यान्डलाई सहभागिता दिएको हो । यो खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

पहिलो दिनको अन्तिम खेलमा घरेलु टोली भारतले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेता भारतले मुम्बईको वानखेडे स्टेडियममा शनिबार राति ७ः१५ बजेबाट आफ्नो अभियान सुरु गर्नेछ ।

नेपालले समूह चरणका आफ्ना चारै खेल मुम्बईको वानखेडे स्टेडियममा खेल्ने तालिका छ । उसले आइतबार दुई पटकको च्याम्पियन इङ्ग्ल्यान्डविरुद्ध खेल्दै विश्वकप यात्रा प्रारम्भ गर्नेछ ।

प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सुपर ८ मा प्रवेश गर्नेछन् । सुपर ८ चरणका खेल फेब्रुअरी २२ देखि सुरु हुनेछन् । यस चरणका शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल मार्च ४ र दोस्रो सेमिफाइनल मार्च ५ मा हुने तालिका छ भने फाइनल खेल मार्च ८ मा आयोजना हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २४, शनिबार ०१:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP