मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोरियामा नेपाल पुलिसकी रमिला लामाले स्वर्ण जितिन्

2.9K
SHARES
कोरियामा नेपाल पुलिसकी रमिला लामाले स्वर्ण जितिन्

काठमाडौं । नेपाल पुलिस क्लबकी तेक्वान्दो खेलाडी रमिला लामाले कोरियामा आयोजित ‘सङ्नाम कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२५’ मा स्वर्ण पदक जितेकी छिन् ।

यही साउन ३ गतेदेखि कोरियाको देइगुमा सञ्चालन भइरहेको ‘वल्र्ड युनिभर्सिटी एण्ड छुछेन कोरिया इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप’ अन्तर्गत पुम्से (काता) विधाको ३० वर्ष मुनिको उमेर समूहमा उनले स्वर्ण जितेकी हुन् । तेस्रो सेटसम्मको प्रतिस्पर्धामा उनले कोरियाली प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो पोल्टामा पारिन् ।

कोरियामा तेक्वान्दो संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको छ ।

स्वर्ण जितपछि खेलाडी लामाले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘यो सफलताले आत्मविश्वास बढाएको छ । आगामी दिनहरूमा अझ मेहेनत गरेर देशको नाम झनै उज्यालो बनाउने लक्ष्य छ ।’

रमिलाको स्वर्ण जितप्रति उनको स्थायी बासस्थान काभ्रेको बेथानचोक गाउँपालिकाले पनि बधाई ज्ञापन गरेको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भने, ‘रमिलाको जितले गाउँपालिकाको गौरव बढाएको छ ।’

काभ्रेको बेथानचोक गाउँपालिका–५ स्थित टाङ्गी टोलकी रमिला झ्यामयाङ्ग लामा र मानकुमारी लामाकी सुपुत्री हुन् । उनले च्याल्टीको आत्मा विकास माध्यमिक विद्यालयबाट एसईई परीक्षा सकेपछि २०७४ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेकी थिइन् ।

नेपाल पुलिस क्लबका तर्फबाट विभिन्न राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुँदै आएकी लामाले अघिल्लो वर्षहरूमा पनि कैयौँ उपाधि जितिसकेकी छिन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ४, आईतवार ०६:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP