मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बाढी–पहिरोको प्रभाव: देशभरका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन

468
SHARES
बाढी–पहिरोको प्रभाव: देशभरका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन

काठमाडौं । देशका विभिन्न क्षेत्रमा लगातारको वर्षा, बाढी, पहिरो तथा सडक मर्मतसम्भारका कामका कारण प्रमुख राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ । शनिबार बिहान ११ बजेसम्म प्राप्त विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका दर्जनौं सडक खण्डमा आवागमन अवरुद्ध भएको छ भने केही स्थानमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ ।

सबैभन्दा बढी असर कोशी प्रदेशमा देखिएको छ । पाँचथर जिल्लाको याङवरक गाउँपालिका क्षेत्रमा जेठ ८ गते आएको बाढी र पहिरोले मध्यपहाडी लोकमार्गका विभिन्न भाग पूर्ण रूपमा बन्द भएका छन् । वडा नम्बर ३ को ओयाम बजार र रिजालभिरमा पहिरो खसेको तथा वडा नम्बर २ को दोभान क्षेत्रमा बाढीले सडक बगाएपछि यातायात सेवा ठप्प बनेको हो ।

भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा पनि बाढीले क्षति पुर्‍याएको थियो । जेठ १२ गतेदेखि अवरुद्ध सडकलाई वैकल्पिक मार्ग प्रयोग गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । यस्तै, संखुवासभाको मकालु गाउँपालिका–३ नयाँबस्ती क्षेत्रमा खसेको पहिरोका कारण कोशी राजमार्गमा पनि सवारी साधन सीमित रूपमा मात्र सञ्चालन भइरहेका छन् ।

बागमती प्रदेशमा भने सडक निर्माण कार्यले यात्रुहरूलाई सास्ती दिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत महालक्ष्मी क्षेत्रमा करिब १०० मिटर सडक ढलानको काम सुरु गरिएकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडक खण्ड अस्थायी रूपमा बन्द गरिएको छ । राजधानी काठमाडौं प्रवेश गर्ने छोटो मार्गका रूपमा परिचित यो सडक करिब एक महिनासम्म प्रभावित रहने जनाइएको छ ।

त्यसैगरी, काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी हुँदै सञ्चालन हुने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमनमा रोक लगाइएको छ । सम्बन्धित निकायले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।

गण्डकी प्रदेशमा पनि पहिरोका कारण सडक यात्रा चुनौतीपूर्ण बनेको छ । म्याग्दी हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक खण्डका जलथले, तल्लो बैसरी र उपल्लो बैसरी क्षेत्रमा खसेका पहिरो हटाएर सडकलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । यद्यपि, थप वर्षा भए पुनः अवरोध हुन सक्ने जोखिम कायम रहेको अधिकारीहरूले बताएका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिका–८ कराडीस्थित सिद्धार्थ राजमार्गमा शनिबार बिहान पहिरो खसेपछि केही समय यातायात अवरुद्ध भएको थियो । पहिरो पन्छाउने कामपछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

कर्णाली प्रदेशको हुम्लामा पनि जोखिमपूर्ण अवस्था कायम छ । नाम्खा गाउँपालिका–२ अन्तर्गत पर्ने हिल्सा–सिमिकोट सडक खण्डमा सम्भावित पहिरोको खतरा बढेपछि सम्पूर्ण सवारी साधन सञ्चालन रोकिएको छ । स्थानीय प्रशासनले मौसममा सुधार नआएसम्म सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १६, शनिबार ०६:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP