मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ट्रम्पको दाबी, इरानको खण्डन: खामेनीको मृत्युबारे बढ्दो विवाद र क्षेत्रीय तनाव

1.4K
SHARES
ट्रम्पको दाबी, इरानको खण्डन: खामेनीको मृत्युबारे बढ्दो विवाद र क्षेत्रीय तनाव

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गर्दै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा कडा अभिव्यक्ति दिएका छन् । उनले लेखेका छन्, “इतिहासकै सबैभन्दा क्रूर व्यक्तिमध्ये एक खामेनी मारिएका छन् । यो इरानका जनताका लागि मात्र होइन, विश्वभर खामेनी र उनको समूहबाट पीडित भएकाहरूका लागि पनि न्याय हो ।”

ट्रम्पले इजरायलले शनिबार राजधानी तेहरानसहित इरानका विभिन्न सहरमा गरेको हवाई आक्रमणमा अमेरिकाको संलग्नता रहेको पनि बताएका छन् । समाचार एजेन्सी रोयटर्सले इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै खामेनीको मृत्यु भएको दाबी गरेको छ । रिपोर्टअनुसार, हवाई आक्रमणपछि भग्नावशेषमुनि उनको शव फेला परेको उल्लेख गरिएको छ । यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि खामेनीको मृत्यु भएको संकेत गरेका थिए, तर स्पष्ट पुष्टि गरेका थिएनन् ।

अर्कोतर्फ, इरानका विदेशमन्त्री अब्बास अराघचीले भने सर्वोच्च नेता जीवितै रहेको दाबी गर्दै विदेशी दाबीहरूलाई असत्य भनेका छन् ।

मानवीय क्षति र आक्रमणको दायरा
इरान रेड क्रिसेन्ट सोसाइटीका अनुसार अमेरिका–इजरायलले गरेको आक्रमणमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने ७४० भन्दा बढी घाइते भएका छन् । त्यस्तै, इरानको एक छात्रा विद्यालयमा गरिएको क्षेप्यास्त्र प्रहारमा ८५ विद्यार्थीको मृत्यु र ४५ जना घाइते भएको दाबी गरिएको छ ।

रोयटर्सका अनुसार आक्रमणमा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र इस्लामिक रिभोलुसनरी गार्ड कप्स (आईआरजीसी) का कमान्डर मोहम्मद पाकपुर पनि मारिएको दाबी गरिएको छ, यद्यपि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन ।

खामेनीको भूमिका र पृष्ठभूमि
८६ वर्षीय खामेनी इरानका कमान्डर-इन-चिफ हुन् र देशका राजनीतिक तथा धार्मिक मामिलामा अन्तिम निर्णय गर्ने अधिकार राख्छन् । सन् १९८९ मा रुहोल्लाह खोमेनीको निधनपछि उनी सर्वोच्च नेता बनेका थिए । १९७९ को इस्लामिक क्रान्तिमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए, जसले शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेको थियो ।

शनिबारको आक्रमणमध्ये एउटा खामेनीको कार्यालय नजिकै भएको बताइएको छ । आक्रमणको समयमा उनी कहाँ थिए भन्ने स्पष्ट नभए पनि उनी केही दिनदेखि सार्वजनिक रूपमा देखिएका थिएनन् ।

क्षेत्रीय तनाव चुलिँदै
इजरायल र अमेरिकाले इरानका १० सहरमा हवाई आक्रमण गरेको दाबी गरिएको छ । त्यसपछि ट्रम्पले भिडिओ सन्देश जारी गर्दै अमेरिकी नागरिकको सुरक्षाका लागि कारबाही गरिएको बताएका थिए ।

जवाफमा इरानले इजरायलतर्फ झन्डै ४०० क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ । साथै कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र यूएईस्थित अमेरिकी सैन्य अड्डालाई पनि निसाना बनाइएको उल्लेख छ । यूएईको सबैभन्दा बढी जनसंख्या भएको सहर दुबईमा समेत क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरिएको छ ।

खामेनीको अवस्थाबारे अझै आधिकारिक र स्वतन्त्र पुष्टि नआएकाले अन्तर्राष्ट्रिय समुदायमा अन्योल र तनाव दुवै बढिरहेका छन् । यदि मृत्युको औपचारिक घोषणा भएमा, त्यसले मध्यपूर्वको शक्ति सन्तुलनमा गम्भीर असर पार्ने विश्लेषण गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १७, आईतवार ०१:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP