मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तोकिएकै मितिमा चुनाव हुन्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

1.3K
SHARES
तोकिएकै मितिमा चुनाव हुन्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्धारित समयमै निर्वाचन सम्पन्न हुने स्पष्ट पार्दै सबै पक्षलाई ढुक्क भएर तयारीमा जुट्न आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही समूहले चुनाव बिथोल्ने उद्देश्यले अफवाह फैलाउन खोजे पनि त्यस्ता प्रयास सफल नहुने दाबी गरे। तोकिएको मिति र समयमै निर्वाचन हुने उनले दोहोर्‍याए ।

भण्डारीका अनुसार अझै पनि केही उम्मेदवारले निर्वाचन हुने–नहुनेबारे संशय व्यक्त गर्दै आयोगसँग सम्पर्क गरिरहेका छन् । उनले भ्रममा नपर्न र प्रचार–प्रसारमा सक्रिय हुन आग्रह गरे ।

उनले निश्चित स्वार्थ बोकेका व्यक्तिहरूले अनावश्यक हल्ला चलाएर वातावरण धमिल्याउने प्रयास गर्न सक्ने बताए । तर अब जनता त्यस्ता प्रायोजित गतिविधिको साक्षी बस्न नसक्ने उनको भनाइ थियो । “निर्वाचनको विकल्प निर्वाचन नै हो,” भन्दै उनले वैकल्पिक मार्ग देखाउन नसक्नेहरूबाट चुनाव अवरुद्ध हुन नसक्ने स्पष्ट पारे ।

राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू सक्रिय रूपमा प्रचारमा लागेको उल्लेख गर्दै उनले सबै शक्ति निर्वाचनमार्फत नै निकास खोज्न सहमत देखिएको बताए । सुशासन स्थापनाको आकांक्षा बोकेका नागरिकलाई भ्रममा पार्ने प्रयास सफल नहुने उनको दाबी थियो ।

निर्वाचन बिथोल्ने वा अस्थिरता निम्त्याउने कुनै पनि गतिविधि सरकारले नियन्त्रण गर्ने र आयोगले समेत नजिकबाट अनुगमन गरिरहेको उनले जानकारी दिए । वातावरण निर्माणमा देखिएका कमजोरी सुधारका लागि सरकारलाई आवश्यक सुझाव दिइरहेको पनि उनले बताए ।

भण्डारीले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरे । विशेष गरी केही सञ्चारमाध्यमले मत सर्वेक्षण गरिरहेको भन्दै उनले त्यस्ता गतिविधि रोक्न चेतावनी दिए । आचारसंहिता उल्लंघन भए कानुनी कारबाही गर्न आयोग बाध्य हुने उनको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १०, आईतवार ०७:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP