मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फागुन २१ को निर्वाचन सुरक्षा: आजदेखि सेना फिल्डमा, चारै सुरक्षा निकाय एकीकृत परिचालन

1.1K
SHARES
फागुन २१ को निर्वाचन सुरक्षा: आजदेखि सेना फिल्डमा, चारै सुरक्षा निकाय एकीकृत परिचालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा खटिन थालेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यसहित एकीकृत सुरक्षा योजना २०८२ अनुसार चारवटै सुरक्षा निकाय परिचालित हुन लागेका हुन् ।

निर्वाचन आउन अब करिब एक महिना मात्रै बाँकी रहँदा सुरक्षा व्यवस्था थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने तयारी गरिएको छ । सोही योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा एकीकृत सुरक्षा व्यवस्था लागू गरिएको हो ।

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ समेत सुरक्षामा खटाइनेछ । मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । सशस्त्र प्रहरीले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्दै काम गर्नेछ ।

नेपाली सेना भने बाहिरी सुरक्षा घेरामा रही निर्वाचन सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ । निर्वाचन प्रयोजनका लागि नेपाली सेना देशका सबै १६५ निर्वाचन क्षेत्रमा आजदेखि परिचालित हुने सेनाले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका थिए । सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन सुरक्षालाई लक्षित गर्दै आवश्यकताअनुसार सेनाका ‘बेस’ स्थापना गरिने र संयुक्त गस्ती पनि सञ्चालन गरिनेछ ।

सेनाले निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । एकीकृत सुरक्षा योजना २०८२ राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोही योजनाअनुसार फौज परिचालन गरिने बस्नेतले जानकारी दिए ।

निर्वाचन सुरक्षामा सेना तीन चरणमा परिचालित हुनेछ । निर्वाचनपूर्व मतपत्र छपाइ, ढुवानी, मतदानस्थल सुरक्षा, मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षासम्म सेनाले जिम्मेवारी सम्हाल्नेछ । यसका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै विमानस्थल, कारागारलगायत संवेदनशील संरचनाको सुरक्षा पनि नेपाली सेनाले गर्नेछ ।

मतदानका दिन नेपाली सेना तेस्रो सुरक्षा घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनेछ ।

आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । आयोगका अनुसार यसपटक कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन्, जसमा ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य मतदाता रहेका छन् ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् । नेपाल प्रहरीतर्फबाट ७७ हजार जनशक्ति परिचालन हुनेछन् भने अपुग जनशक्ति पूर्ति गर्न एक लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ ।

मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ । दुई हजार ८४५ मतदानस्थल सामान्य, चार हजार ४४२ संवेदनशील र तीन हजार ६८० अतिसंवेदनशीलका रूपमा वर्गीकृत छन् । सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालबाट ३४ हजार ५७६ जना र १५ हजार ११० निर्वाचन प्रहरी गरी कूल ४९ हजार ६८६ जना परिचालन हुनेछन् । निर्वाचन अवधिमा कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी सुरक्षा व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २१, बुधबार ०५:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP