मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समानुपातिक बन्दसूचीबाट १७५ उम्मेदवारले लिए नाम फिर्ता

728
SHARES
समानुपातिक बन्दसूचीबाट १७५ उम्मेदवारले लिए नाम फिर्ता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम विवरणअनुसार एकलसहित १७ वटा चुनाव चिह्नका उम्मेदवारहरूले तोकिएको समयसीमाभित्र नाम फिर्ता गरेका हुन् ।

बन्दसूचीमा समावेश उम्मेदवारले नाम फिर्ता लिनका लागि पुस २८ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको थियो । आयोगले यसबारे सूचना प्रकाशित गरी उम्मेदवारहरूलाई जानकारी गराएको थियो । उम्मेदवार स्वयं उपस्थित भएर वा वारेसमार्फत पनि नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको थियो ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार तोकिएको समयभित्र एकलसहित १७ चुनाव चिह्नअन्तर्गतका १७५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । फिर्ता लिनेमा एकल चुनाव चिह्नबाट बन्दसूची पेस गर्ने दलका उम्मेदवारसमेत रहेका छन् ।

नाम फिर्ता लिनेमा सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ११० जना उम्मेदवार रहेका छन् । उक्त पार्टी अन्य दलसँग एकता गरेपछि यसअघि बन्दसूचीमा समावेश सबै उम्मेदवारको नाम फिर्ता गरिएको सहायक प्रवक्ता जिसीले बताए ।

त्यसैगरी जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका ६ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका ४–४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् भने नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २–२ जना उम्मेदवारले नाम फिर्ता गरेका छन् ।

यस्तै संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नका १–१ जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट पनि १–१ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि दलहरूले पुस १३ र १४ गते आयोगमा नाम पेस गरेका थिए । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक प्रणालीबाट ११० जना सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ । आयोगले पछिल्लो जनगणनाको तथ्यांकलाई आधार मानी समावेशी तथा जातीय प्रतिनिधित्व सुनिश्चित हुने गरी आवश्यक व्यवस्था मिलाएको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ३०, बुधबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP