मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उच्चपदस्थ व्यक्तिमाथि धम्की प्रकरण: मुख्य व्यक्ति फिलिपिन्समा, केही पक्राउ

1.8K
SHARES
उच्चपदस्थ व्यक्तिमाथि धम्की प्रकरण: मुख्य व्यक्ति फिलिपिन्समा, केही पक्राउ

काठमान्डु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका मुख्य अभियुक्त प्रकाश पाठक फिलिपिन्समा रहेको खुलेको छ । धम्कीपूर्ण पत्र अख्तियारमै प्राप्त भएपछि आयोगले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराएको थियो ।

उजुरी दर्ता भएको चार दिनदेखि काठमान्डु उपत्यका प्रहरी र अन्य विशेष युनिटहरूले समन्वयमा अनुसन्धान अगाडि बढाइरहेका छन् । यसबीच पाठकका तीन सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूले आफूहरू पाठकका ‘बडीगार्ड’ भएको स्वीकारे पनि धम्की योजना बनाएको आरोप भने अस्वीकार गरेका छन् ।

प्रकाशले ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’का अध्यक्ष दाबी गर्दै सार्वजनिक गरेको भिडियोमा उनीहरूको उपस्थितिरहँदा प्रहरीले उनीहरूलाई संलग्न ठान्दै अनुसन्धान बिस्तार गरेको छ । ‘प्राविधिक दृष्टीले पनि तथ्य जाँच भइरहेको छ । केही व्यक्तिको संलग्नता हुन सक्ने संकेत देखिएको छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।

पाठकले पठाएको पत्रमा अख्तियार प्रमुख राईसहित पूर्वअख्तियार प्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक, सुडान काण्डमा दोषसिद्ध तीन पूर्वप्रहरी प्रमुख ओमविक्रम राना, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीसमेत लक्षित छन् ।

यसैगरी कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाण र व्यवसायी दुर्गा प्रसाईंलाई पनि चेतावनीमा समावेश गरिएको छ । पत्रमा कसलाई किन धम्की दिइएको भन्ने विषय पनि उल्लेख गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनपछि काठमान्डु उपत्यका प्रहरी कार्यालयले लक्षित सबै व्यक्तिहरूका निवास, हिँडडुल मार्ग र सार्वजनिक कार्यक्रममा सुरक्षा निगरानी कडा बनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको बेला धम्कीपत्र आइपरेकोले प्रहरी अधिकारीहरूले केही सन्देह उठाएका छन् ।

धम्की समूहमध्ये केही अभिव्यक्तिहरू मुद्दासँग जोडिएका विषयसँग मेल खाने देखिएकाले अधिकारी पक्ष वा अर्को विवादास्पद व्यापारीको संलग्नताबारे पनि अनुसन्धान भइरहेको प्रहरी स्रोत बताउँछ ।

अधिकारीसहित ७ जनाविरुद्ध भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा साढे १३ करोड रुपैयाँभन्दा बढी अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भइसकेको छ । आज उनीहरूलाई थुनछेक बहसका लागि अदालतमा उपस्थित गराउने तयारी अख्तियारले गरेको छ ।

यसअघि आर्थिक अनियमिततासम्बन्धी समाचार लेखेका एक पत्रकारले पनि अधिकारीसँग जोडिएको समूहबाट धम्की पाएका थिए । घटनापछि अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो ।

धम्की प्रकरण अझै खुल्दुलीमै रहेकाले आगामी दिनमा अनुसन्धानले वास्तविक संलग्नता र योजनाको पूर्ण चित्र खडा गर्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १९, शुक्रबार ०६:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP