मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेको ११औँ महाधिवेशन: संस्थापन र इतर पक्षबीचको प्रतिस्पर्धा तल्लो तहसम्म

1.5K
SHARES
एमालेको ११औँ महाधिवेशन: संस्थापन र इतर पक्षबीचको प्रतिस्पर्धा तल्लो तहसम्म

काठमान्डु । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा कोशी प्रदेशमा संस्थापन र इतर पक्षबीचको प्रतिस्पर्धा तल्लो तहसम्म चर्किएको छ । प्रतिनिधि छनोट प्रक्रियामा कतिपय जिल्लामा प्यानल बनाएर प्रत्यक्ष चुनावसम्म हुँदा, कतिपय ठाउँमा सहमतिको मोडेल अपनाइएको छ । यसले महाधिवेशनअघि नै पार्टीभित्रको शक्ति–सन्तुलन स्पष्ट देखिन थालेको छ ।

तराइका जिल्लामा प्रतिस्पर्धा, पहाडमा सहमति
कोशीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, खोटाङ र सोलुखुम्बुमा प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । पहाडी क्षेत्रमा नेतृत्वबीचको सहकार्य देखिएको भए पनि तराइका जिल्लाहरूमा संस्थापन अध्यक्ष ओली समूह र ईश्वर पोखरेल पक्षबीच कडा प्रतिस्पर्धा भएको छ ।

ओखलढुंगा र धनकुटामा भएको विवादले प्रतिनिधि छनोट प्रक्रियाको गरमाहट झनै बढायो । धनकुटामा मतपत्र च्यातिने घटना भयो भने ओखलढुंगामा मतगणनामा अनियमितता भएको आरोप लगाइदै विवाद चर्किएको थियो ।

दुवै पक्षको शक्ति प्रदर्शन
कोशीमा भएको निर्वाचनमा दुवै पक्षले आफ्नो–आफ्नो प्रभाव जमाएको दाबी गरेका छन् । संस्थापन पक्षले बहुसंख्यक प्रतिनिधि आफ्नो पक्षमा निर्वाचित भएको बताउँछ भने पोखरेल समूहले पनि महत्वपूर्ण क्षेत्रहरूमा ‘उल्लेख्य उपस्थिति’ रहेको दाबी गरेको छ ।

अध्याक्ष ओलीको गृहजिल्ला झापामा ओली पक्षको प्रभाव प्रस्ट देखिएको छ । तर मोरङ ६ मा भने पोखरेल पक्षले ‘क्लिन स्वीप’ गर्दै बलियो सन्देश दिएको छ । त्यहाँका नेता विनोद ढकालले सबैभन्दा धेरै मत ल्याएर प्रतिनिधि बनेका छन् ।

मोरङ ६मा पोखरेल पक्षको उच्च परिणाम
मोरङ क्षेत्र नं ६ मा ढकालले १,५२७ मत ल्याएर अग्रता हासिल गरे । पितकुमार श्रेष्ठ, रमेशकुमार पोखरेल र सत्यनारायण चौधरी समेत सोही प्यानलबाट भारी मतसहित विजयी भए ।

महिला र युवा दुवै तहमा पनि पोखरेल पक्षकै सरस्वती भण्डारी, सरस्वती खरेल र सन्तोष घिमिरे निर्वाचित भएका छन् ।

झापामा ओली समूहको मजबुत पकड
झापा १, ३, ४ र ५ सबैमा ओली पक्षका उम्मेदवारले बहुमत हासिल गर्दै वर्चश्व जमाएका छन् । खुल्ला, महिला र युवा—तीनै समूहमा ओली पक्षका प्रतिनिधि विजयी भएका छन् । झापा ५ त अध्यक्ष ओलीको निर्वाचन क्षेत्र भएकाले यस जिल्लामा संस्थापन पक्षको एकाधिकार नै देखिएको छ ।

झापामा ३८ प्रतिनिधिमध्ये ३६ मा चुनाव भयो भने दलित क्षेत्रमा सहमतिले दुई प्रतिनिधि चयन गरियो ।

इलाममा पूर्ण सहमतिको उदाहरण
इलामका दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएको छ । खुल्ला, महिला, युवा र दलित—सबै तहमा सहमतिको मोडेल लागू भएपछि इलाम एमालेभित्र ‘सबभन्दा एकबद्ध’ जिल्लाका रूपमा देखिएको छ ।

इलाम १ मा उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे चयन भए भने युवातर्फ टीका पौडेल निरोज एकमात्र प्रतिनिधि बने ।

महिलातर्फ उमादेवी सुनुवार, शकुन्तला लेप्चा र सावित्रा शिवा निर्विरोध निर्वाचित भए ।

इलाम २ मा पनि सुहाङ नेम्वाङ, केशवकुमार धौराली, गणेशप्रसाद बराल, दिपेन्द्र खनाल, महेश बस्नेत र हेमन्त राई सर्वसम्मत रूपमा प्रतिनिधि बने । दलित कोटामा देवेन्द्र विश्वकर्मा निर्विरोध चयन भए ।

महाधिवेशन अघि आन्तरिक गणित झनै रोचक
कोशी प्रदेशमा देखिएको प्रतिस्पर्धा र सहमतिको मिश्रित मोडेलले एमालेको ११औँ महाधिवेशनमा शक्ति–सन्तुलन कसरी उत्रिने हो भन्नेबारे रोचक संकेत दिएको छ ।

अहिलेका नतिजा अनुसार अध्यक्ष ओली समूह अझै बलियो देखिए पनि पोखरेल समूहले पनि महत्त्वपूर्ण क्षेत्रमा प्रभाव जमाएर महाधिवेशनमा ‘कडा प्रतिस्पर्धाको’ संकेत दिएको छ ।

महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको आन्तरिक गणित, शक्ति–सम्पर्क र नेतृत्वमैत्री समीकरण कता मोडिन्छ भन्नेबारे एमाले समर्थक र विश्लेषक दुवैकै चासो बढ्दै गएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १४, आईतवार ०४:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP