मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दशैँ–तिहारमा काठमाडौंमा सुरक्षा कडा, ३ हजार ५०६ प्रहरी परिचालन हुने

351
SHARES
दशैँ–तिहारमा काठमाडौंमा सुरक्षा कडा, ३ हजार ५०६ प्रहरी परिचालन हुने

काठमाडौं । काठमाडौं उपत्यकामा दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सुरक्षा योजना लागू गर्ने भएको छ । चाडपर्वका समयमा हुन सक्ने चोरी, ठगी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले सुरक्षा व्यवस्था कडा पार्न लागिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार असोज १६ देखि कात्तिक ३० गतेसम्म लागू हुने विशेष सुरक्षा योजनाअन्तर्गत ३ हजार ५०६ जना प्रहरी परिचालन गरिनेछ । आवश्यकता परेको अवस्थामा थप १९० जनाको रिजर्भ टोलीसमेत परिचालन गरिने प्रहरीले जनाएको छ ।

सीसीटिभी, ड्रोन र कुकुरबाट निगरानी
प्रहरीले चाडपर्वको समयमा काठमाडौंका भीडभाड हुने तथा संवेदनशील क्षेत्रमा प्रविधिको प्रयोग बढाउने भएको छ । काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सीसीटिभी क्यामेरामार्फत निगरानी गरिनेछ भने तीनवटा ड्रोनबाट आकाशबाट समेत सुरक्षा निगरानी गरिनेछ ।

प्रमुख नाका र बढी भीड हुने स्थानमा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी नियमित ‘डग स्निफिङ’ गरिने प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमार्फत हुने ठगी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि छुट्टै डेस्कसमेत सञ्चालन गरिनेछ ।

त्यसैगरी, नागरिकलाई आवश्यक सूचना तत्काल उपलब्ध गराउन काठमाडौंका १० स्थानमा ‘पब्लिक अनाउन्समेन्ट सिस्टम’ सञ्चालन गरिनेछ । कुनै घटना भएको जानकारी प्राप्त भएलगत्तै ५ देखि १० मिनेटभित्र घटनास्थलमा प्रहरी पुग्ने गरी सुरक्षा व्यवस्थापन मिलाइएको एसपी थापाले बताए ।

मोबाइल गस्तीदेखि संयुक्त चेकिङसम्म
प्रहरीले पीपीईआई अर्थात् Promotional, Preventive, Enforcement and Innovation मोडलमा आधारित भएर सुरक्षा रणनीति तयार गरेको जनाएको छ । योजनाअन्तर्गत मोबाइल तथा पैदल गस्ती, क्यूआरटी, सीआरभी, सादा पोशाकका प्रहरी परिचालन गरिनेछ ।

सीमा नाकामा कडाइका साथ चेकजाँच गर्नुका साथै ट्राफिक प्रहरीसँगको सहकार्यमा संयुक्त चेकिङ सञ्चालन गरिनेछ । मन्दिर, खसी बजार, सपिङ मल, वित्तीय संस्था तथा एटीएम बुथमा समेत विशेष सुरक्षा ड्युटी खटाइनेछ ।

१४ स्थानमा यात्रु सहायता डेस्क
चाडपर्वमा घर फर्किने तथा काठमाडौं भित्रिने यात्रुलाई सहजता प्रदान गर्न १४ स्थानमा यात्रु सहायता तथा हेल्प डेस्क स्थापना गरिने भएको छ ।

कलंकी, कोटेश्वर, गौशाला, गोंगबु बसपार्क, बिजी मल अगाडि, बल्खु, सुरुङ मार्ग, नागढुंगा, बालाजु बाइपास, बालाजु चोक, सीतापाइला, जोरपाटी र चाबहिल चोकलगायत स्थानमा हेल्प डेस्क सञ्चालन हुनेछन् । यसबाहेक २५ वटा सामुदायिक सेवा केन्द्रमार्फत पनि नागरिकलाई आवश्यक सहायता प्रदान गरिने प्रहरीले जनाएको छ ।

घर छाडेर जाने नागरिकलाई सावधानी अपनाउन आग्रह
प्रहरीले चाडपर्वमा घर छाडेर गाउँ जाने नागरिकलाई घरको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन आग्रह गरेको छ । बहुमूल्य गरगहना, नगद तथा महत्वपूर्ण कागजात घरमा नराखी सुरक्षित स्थान वा बैंकको लकरमा राख्न प्रहरीले सुझाव दिएको छ ।

घर तथा कोठाका ढोका–झ्याल सुरक्षित रूपमा बन्द गरी विश्वासिलो छिमेकी वा प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरिएको छ । जुवा, तास तथा लंगुरबुर्जा खेल्ने वा खेलाउने कार्य नगर्न र पटका तथा आतसबाजीजस्ता प्रज्वलनशील वस्तुको प्रयोगबाट बच्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, अपरिचित व्यक्तिमाथि सहजै विश्वास नगर्न तथा सामाजिक सञ्जालमा आउने ‘लक्की अफर’, ‘उपहार जितियो’ र ‘छिटो कमाइ’ जस्ता प्रलोभनबाट सावधान रहन प्रहरीले आग्रह गरेको छ ।

कुनै शंकास्पद गतिविधि देखिएमा वा समस्या परेमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० मा तत्काल जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १६, शुक्रबार ११:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP