मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अझै ५ हजार ६९७ कैदीबन्दी फरार, सरकारले तीव्र पार्‍यो खोजी अभियान

2.5K
SHARES
अझै ५ हजार ६९७ कैदीबन्दी फरार, सरकारले तीव्र पार्‍यो खोजी अभियान

काठमाडौं । देशभर फैलिएको जेनजी युवाको आन्दोलनको मौका पारेर कारागार र सुधारगृहबाट भागेका बन्दीमध्ये ५ हजार ६९७ जना अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

विभागका अनुसार हालसम्म मुलुकभरका २८ वटा कारागार र ९ बालसुधारगृहबाट १४ हजार ५५३ बन्दी भागेका थिए । तीमध्ये ८ हजार ८५१ बन्दीलाई पुनः कारागारमा फर्काइएको छ । बाँकी फरारमध्ये ५ हजार ७९ जना कैदी र ६१८ बालबन्दी रहेका छन् ।

फरार कैदी खोजी अभियान तीव्र
गृह मन्त्रालयले असोज १० गतेसम्म स्वेच्छाले कारागार फर्किन ‘अल्टिमेटम’ दिए पनि ठुलो संख्यामा बन्दी अझै फरार रहेका छन् । यसले सार्वजनिक सुरक्षामा चुनौती थपिएको भन्दै सरकारले विशेष खोजी तथा नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ ।

यस अभियानका लागि प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ, जसमा सुरक्षा निकायका प्रतिनिधि पनि सहभागी छन् ।

कुन–कुन क्षेत्रबाट भागे बन्दी ?
झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, नख्खु, डिल्लीबजार, चितवन, कास्की, कपिलवस्तु, कैलाली लगायतका २८ जिल्लाका कारागारबाट बन्दी फरार भएका हुन् । त्यस्तै मोरङ, पर्सा, भक्तपुर, डोटी लगायत ९ जिल्लाका सुधारगृहबाट ९६३ बालबन्दी भागेका थिए ।

भाग्ने क्रममा रामेछाप र धादिङमा पाँच कैदीको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको थियो । यस्तै, नौवस्ता सुधारगृहमा भएको झडपमा पाँच बालबन्दीको ज्यान गएको थियो ।

देशभरको कैदी संख्याः ३० हजार नाघ्यो
कारागार विभागका अनुसार हाल देशभरका ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न अपराधमा संलग्न ३० हजार ६४६ जना कैदीबन्दी रहेका छन् । धनुषा, बारा, भक्तपुर, नवलपरासी पूर्व र पूर्वी रुकुममा भने हाल कारागार छैन ।

सरकारले फरार बन्दीहरूलाई शीघ्र कारागार फर्कन आग्रह गर्दै त्यसो नगरे कानुनी कारबाही हुने चेतावनी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २१, मंगलवार ०२:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP