मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संविधानभित्रैबाट समाधान निकालिनुपर्छ : पाँच दलका युवा संगठन

2.1K
SHARES
संविधानभित्रैबाट समाधान निकालिनुपर्छ : पाँच दलका युवा संगठन

काठमाडौं । भदौ २३ र २४ गते जेन जी समूहको आह्वानमा देशभर चलेको आन्दोलनमा भएको ठूलो मानवीय क्षति र हिंसात्मक घटनाप्रति नेपालको प्रमुख युवा संगठनहरूले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसनिकट तरुण दल, नेकपा एमालेनिकट युवा संघ नेपाल, नेकपा माओवादी केन्द्रको वाईसीएल, नेकपा एकीकृत समाजवादीको युवा संघ, र राष्ट्रिय जनमोर्चाको अखिल नेपाल युवक संघ का अध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका मागहरूलाई समर्थन जनाएका छन् तर हिंसात्मक प्रवृत्तिको विरोध गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिताको मागप्रति हाम्रो स्पष्ट समर्थन छ । भ्रष्टाचारका घटनामा प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी सजाय दिनुपर्छ ।”

प्रधानमन्त्रीको राजीनामापछि पनि देशका विभिन्न ठाउँमा तोडफोड, आगजनी, लुटपाट र हिंसात्मक गतिविधि जारी रहनु आन्दोलनको शुद्धता र उद्देश्यमाथि प्रश्न उठाउने कार्य भएको संगठनहरूको ठहर छ ।

उनीहरूले सुरक्षानिकायहरूको भूमिकामाथि पनि प्रश्न उठाउँदै गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरेका छन् ।

विध्वंस रोक्नका लागि टोलटोलमा सुरक्षा समिति गठन गरी स्थानीय समुदाय स्वयं सक्रिय हुनुपर्ने सुझाव पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

युवा संगठनहरूले आगामी राजनीतिक यात्राको दिशा स्पष्ट गर्दै भनेका छन् कि, “विगतका आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गर्दै मात्र निकास खोजिनुपर्छ । लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य कमजोर नबनाइइकन संविधानभित्रैबाट समाधान निकालिनुपर्छ ।”

अन्त्यमा, संगठनहरूले सम्पूर्ण युवालाई संयमित र सजग रहन आग्रह गर्दै, लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न दृढ भएर उभिनु आवश्यक रहेको सन्देश दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २६, बिहीबार १०:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP