मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पोखरेलको नयाँ कथासंग्रह ‘एक रातको बास’ सार्वजनिक

1.5K
SHARES
पोखरेलको नयाँ कथासंग्रह ‘एक रातको बास’ सार्वजनिक

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि उनले नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’, हास्य–निबन्धसंग्रह ‘चिबे–नकटो’ र उपन्यास ‘वनिता’ जस्ता कृतिहरू प्रकाशित गरिसकेका थिए । यो उनको दोस्रो कथासंग्रह हो ।

पोखरेलको ‘फकलीको गाउँ’ अंग्रेजी संस्करणमा समेत प्रकाशित भइसकेको छ ।

२०८ पृष्ठमा फैलिएको यस संग्रहमा १५ कथा समावेश छन् । यसमा कोरली, नियतिको खेल, पोल्टाको सिन्दूर, पहाडे मनई आइटा, सुनयना, लच्छुकी घरवाली, एक रातको बास, पराई सुख, सन्त्रास, माखे सांगलो, तिमीबाहेक, म को हुँ ?, आश्रम, आफलेको ठाँडो र यो पनि झुट हो ! समावेश छन् ।

यस संग्रहमा ‘एक रातको बास’ कथा शीर्षक कृतिको नामसमेत बनाइएको छ । पत्रकार कृष्ण भुसालले सम्पादन गरेको यस संग्रहमा ‘वृद्धको डायरी’लाई छुट्टै राखिएको छ ।

महाकाव्यकार खेमनाथ दाहालका अनुसार, “संग्रहमा समावेश कथाहरू गहन, जीवन्त र मार्मिक छन् । हास्य–व्यंग्य, स्मृति, जीवनशैली र प्रकृतिप्रतिको प्रेमलाई लेखकले कथा निर्माणका औजारका रूपमा प्रयोग गरेका छन् । ग्रामीण सामाजिक संरचना, मानवीय सम्बन्ध र संवेदनालाई सूक्ष्म तरिकाले प्रस्तुत गरिएको छ ।”

उनको भनाइमा, कथा केवल मनोरञ्जनका लागि नभई नेपाली गाउँ–परिवेश र बदलिँदो समाजका विविध रूपको चित्रण हो । सरल तर प्रभावकारी भाषा र शिल्पगत परिपक्वताले पाठकलाई आकर्षित गर्ने गुण यसमा पाइन्छ ।

लेखक पोख्रेल भन्छन् – “मैले हाम्रै परिवेशमा भएका विभिन्न कालखण्डका पदचाप, घटनाक्रम र अनुभूतिलाई कथामार्फत प्रस्तुत गरेको छु । बाँकी मूल्यांकन सुधी पाठककै जिम्मेवारी हो ।”
उनले समाजमा देखिएका सुख–दुःख, संवेदना र विसंगतिलाई यस संग्रहमार्फत उतारेका छन् ।

पछिल्ला दशकमा शहरी परिवेशलाई केन्द्र बनाएर कथा लेखन बढी हुँदै गएको बेलामा ‘एक रातको बास’ ग्रामीण जीवनशैली, सामाजिक सम्बन्ध र सामूहिक जीवनका कथा लिएर आएको छ । यसले नेपाली जीवन–यथार्थलाई प्रष्टसँग उजागर गर्नुका साथै साहित्यिक स्वाद र भावनात्मक गहिराइ पनि दिएको छ ।

सम्पादक कृष्ण भुसालका अनुसार, “यस संग्रहका कथा केवल मनोरञ्जनका स्रोत मात्र होइनन् । यी समाजको ऐना र जीवनका विविध आयामहरूको दर्पण पनि हुन् । पाठकलाई सोच्न, आत्मसमीक्षा गर्न र आफ्नै जीवनसँग जोड्न प्रेरित गर्ने क्षमता यसमा छ ।”

उपन्यासकार तथा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ भन्छन्, “पोख्रेलको यो संग्रह नेपाली कथासाहित्यमा सशक्त उपस्थिति हो । कथाहरूले मनोरञ्जनसँगै जीवनबोध र सामाजिक यथार्थको गहिरो अनुभूति प्रदान गर्छन् । सरल भाषा, प्रभावकारी शिल्प र संवेदनशील विषयवस्तुले यसलाई पठनीय बनाएको छ ।”

मोबाइल किताब प्रा.लि.ले यस कृतिको डिजाइन तथा छपाइ गरेको हो । पुस्तक आकर्षक आवरणसहित प्रकाशित गरिएको छ । यसको मूल्य ४५० रुपैयाँ निर्धारण गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १७, मंगलवार ०५:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP