मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य राजमार्गहरूमा पहिरोः काठमाडौं र पश्चिम पहाडी क्षेत्रको सडक यातायात प्रभावित

2.7K
SHARES
मुख्य राजमार्गहरूमा पहिरोः काठमाडौं र पश्चिम पहाडी क्षेत्रको सडक यातायात प्रभावित

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न मुख्य राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । त्यसका कारण यात्रुहरू बाटोमै रोकिएका छन् भने सवारी सञ्चालनमा ठूलो अवरोध उत्पन्न भएको छ ।

धादिङको गल्छी गाउँपालिका–६ स्थित जरेखेतमा आज बिहान खसेको पहिरोले काठमाडौं प्रवेश गर्ने प्रमुख नाका पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । पहिरोले दुबै दिशाबाट आउने(जाने सडक बन्द भएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । पहिरो पन्छाउन उपकरणसहितको टोली परिचालित गरिएको भए पनि निरन्तर वर्षाले काममा कठिनाइ भएको जनाइएको छ ।

सडक अवरुद्ध हुँदा गजुरीतर्फबाट काठमाडौं जान खोजेका सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्, जबकि काठमाडौंबाट मुग्लिनतर्फ गइरहेका सवारीहरू आदमघाटमा थुनिएका छन् । प्रहरी प्रशासनले उच्च जोखिमयुक्त क्षेत्रमा रहेका चालक तथा यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै, बागलुङको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो खसेर मध्यपहाडी लोकमार्गअन्तर्गतको बागलुङ–बुर्तिबाङ सडक पनि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाका अनुसार सडक अवरुद्ध भएपछि रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी लगायत क्षेत्रहरूबाट पोखरा र काठमाडौंतर्फ जानुपर्ने सवारी साधन रोकिएका छन् ।

गुल्मीमा पनि बाढी र पहिरोको असर परेको छ । सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आउँदा रिडी–वामीटक्सार सडक आज बिहानदेखि पूर्ण रूपमा बन्द भएको हो । सडक खुलाउन प्रयास जारी भए पनि निरन्तर पानी परिरहेकाले काम अवरुद्ध भएको बुझिएको छ ।

तीन दिनअघि सोही खोलामा आएको बाढीले एक कार बगाएको थियो, जसले खतरा अझै कायमै रहेको संकेत गर्छ ।

यस्तै, रुरुक्षेत्र गाउँपालिका–१ स्थित साँखरमा सुक्खा पहिरो खसेर रिडी–खञ्ज्याङ सडक पनि अवरुद्ध भएको छ । कालीगण्डकी र बडिगाड खोलामा पानीको सतह बढेसँगै नदी आसपासका क्षेत्रलाई थप जोखिममा पारेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक परेको खण्डमा सुरक्षित स्थानतर्फ सर्न अनुरोध गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गुल्मी जिल्लामै २०० भन्दा बढी स्थान बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २३, शुक्रबार ०५:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP