मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अनलाइन सञ्चारमाध्यम दर्तामा नयाँ व्यवस्थाः पाँच हजार साइट अन्योलमा, महासङ्घको विरोध

1.9K
SHARES
अनलाइन सञ्चारमाध्यम दर्तामा नयाँ व्यवस्थाः पाँच हजार साइट अन्योलमा, महासङ्घको विरोध

काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण प्रक्रिया प्रमुख जिल्ला अधिकारी (सीडीओ)मार्फत गराउने नयाँ व्यवस्था लागू गरेपछि देशभरका झण्डै पाँच हजार सञ्चारमाध्यम अन्योलमा परेका छन् ।

नेपाल पत्रकार महासङ्घले बिहीबार विज्ञप्ति जारी गर्दै यो निर्णय संविधानको मर्म र संघीय संरचनाविपरीत भएको बताउँदै कडा आपत्ति जनाएको हो । महासङ्घका अनुसार सञ्चारमाध्यमको दर्ता तथा नवीकरणको जिम्मा सीडीओलाई दिने प्रावधान एकतन्त्रीय पञ्चायती अभ्यासको पुनरावृत्ति हो ।

‘पञ्चायती सोच झल्काउने निर्णय’: महासङ्घ
महासङ्घले नयाँ निर्णयको आलोचना गर्दै भनेको छ, “पत्रपत्रिका प्रमुख जिल्ला अधिकारीको कार्यालयमा दर्ता गर्ने पञ्चायतकालीन प्रावधानकै निरन्तरताका रूपमा यो व्यवस्था बुझ्न सकिन्छ । लोकतान्त्रिक प्रक्रियामा यस्तो निर्णय अव्यावहारिक, अस्पष्ट र आपत्तिजनक छ ।”

विज्ञप्तिमा भनिएको छ, उक्त व्यवस्था ल्याउँदा कुनै सरोकारवाला पक्षसँग परामर्श नगरिएकोले निर्णय लोकतान्त्रिक अभ्यासविपरीत भएको छ ।

दर्ता प्रक्रिया ठप्प, अन्योल थपियो
महासङ्घका अनुसार हाल सञ्चालनमा रहेका झण्डै ५ हजार अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया ठप्प बनेको छ ।

“नवीकरण कहाँ र कसरी गर्ने भन्ने अन्योल छ,” महासङ्घको भनाइ छ ।

सूचना तथा प्रसारण विभागले मन्त्रालयको निर्देशनमा प्रक्रिया स्थगन गरेपछि अन्योल झन् बढेको जनाइएको छ ।

“संघीयता विपरीत, उल्टो बाटोमा सरकार”
महासङ्घले संघीय संरचनाको मर्मअनुसार सञ्चारमाध्यम दर्ता स्थानीय तहबाट गरिनुपर्ने औंल्याएको छ । “आमसञ्चारसम्बन्धी छाता ऐनको मस्यौदामा पालिकामार्फत दर्ता गर्ने व्यवस्था उल्लेख छ,” विज्ञप्तिमा भनिएको छ ।

तर, पछिल्लो निर्णयले सरकारले उल्टो बाटो समातेको निष्कर्ष महासङ्घको छ ।

संवादको आग्रह
महासङ्घले सञ्चार मन्त्रालयको भूमिकालाई ‘उदासीन’ भनेको छ र सरकारसँग संवादमार्फत समस्या समाधानको माग गरेको छ ।

अन्यथा ‘आन्दोलनमा उत्रन बाध्य हुने’ चेतावनी विज्ञप्तिमा दिइएको छ ।

विभागको सूचना
सूचना तथा प्रसारण विभागले मंगलबार सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया हाललाई स्थगित गरिएको जानकारी दिएको थियो ।

सरकारको एकतर्फी निर्णयले सञ्चार क्षेत्र अन्योलमा पारेको महासङ्घको निष्कर्ष छ । संघीयता र प्रेस स्वतन्त्रताको सवाल उठाउँदै महासङ्घले सरकारलाई पुनर्विचार गर्न आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २२, बिहीबार १२:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP