मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जलवायु वित्तमा न्यायपूर्ण पहुँच र दिगो कृषि प्रवर्द्धनमा अन्तर्राष्ट्रिय सहयोगको माग

2K
SHARES
जलवायु वित्तमा न्यायपूर्ण पहुँच र दिगो कृषि प्रवर्द्धनमा अन्तर्राष्ट्रिय सहयोगको माग

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाललगायत भूपरिवेष्टित हिमाली देशहरूका लागि जलवायु वित्तमा न्यायसंगत पहुँच र दिगो कृषि प्रणाली प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेकी छन् ।

इटालीको रोममा आयोजित संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ महासभामा सोमबार सम्बोधन गर्दै मन्त्री राणाले जलवायु परिवर्तनबाट गम्भीर असर खेपिरहेका देशहरूलाई सहयोग पुर्‍याउनुपर्नेमा जोड दिइन् ।

‘हिमाली क्षेत्र जलवायु संकटबाट सबैभन्दा बढी प्रभावित हुँदै आएका छन्, तर जलवायु वित्त तथा अनुकूलन प्रयासहरूमा यिनलाई पर्याप्त प्राथमिकता दिइएको छैन,’ मन्त्री राणाले भनिन्, ‘सम्बद्ध सबै सरोकारवालाहरूको ध्यान अब यसतर्फ केन्द्रित हुनुपर्छ ।’

उनले विशेषगरी अनुदानमा आधारित जलवायु वित्त सुनिश्चित गरिनुपर्ने र जोखिम न्यूनीकरण तथा अनुकूलन क्षमतामा लगानी आवश्यक रहेको उल्लेख गरिन् ।

नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको महत्व झल्काउँदै मन्त्री राणाले यसले कुल ग्राहस्थ उत्पादनको झण्डै २३ प्रतिशत योगदान गर्ने र दुई तिहाईभन्दा बढी जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशासँग आबद्ध रहेको जानकारी गराइन् । खाद्य सुरक्षादेखि पोषण, गरिबी निवारण र ग्रामीण समृद्धिसम्म कृषिको योगदान उल्लेखनीय रहेको पनि उनले औँल्याइन् ।

मन्त्री राणाका अनुसार महामारी, जलवायु संकट, आर्थिक अनिश्चितता र भूराजनीतिक द्वन्द्वहरूका कारण सन् २०३० भित्र भोकमुक्त विश्व निर्माण गर्ने साझा लक्ष्य अझै टाढिएको छ ।

‘हामीले सहनशील र दिगो पहाडी कृषि प्रणालीलाई सशक्त रूपमा प्रवर्द्धन गर्नुपर्ने बेला आएको छ,’ उनले भनिन्, ‘यो केवल जीविकोपार्जनका लागि मात्र होइन, खाद्य सुरक्षाको दीर्घकालीन सुनिश्चितता, जैविक विविधताको संरक्षण र पारिस्थितिक सन्तुलन कायम राख्न पनि अपरिहार्य छ ।’

नेपाल ‘फोर बेटर’ दृष्टिकोणअनुसार सफल र नवप्रवर्तनशील कृषि अभ्यासहरूलाई विस्तार गर्न इच्छुक रहेको बताउँदै मन्त्री राणाले कृषकहरूका लागि पूर्वसूचना प्रणालीको पहुँच सुनिश्चित गर्न सहकार्यको खोजी भइरहेको जानकारी दिइन् ।

उनले एफएओसँगको साझेदारीलाई थप सशक्त बनाउँदै महिला तथा युवा किसानहरूको सहभागिता तथा नेतृत्व वृद्धि गर्ने अभ्यासहरूबारे अनुभव र ज्ञान आदानप्रदानमा नेपालले विशेष चासो राखेको पनि स्पष्ट पारिन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १७, मंगलवार ०४:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP