मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एसईई नतिजा असारको अन्त्यतिर सार्वजनिक हुने तयारी

2.9K
SHARES
एसईई नतिजा असारको अन्त्यतिर सार्वजनिक हुने तयारी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साताभित्रै सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको छ ।

पहिले तय भएको कार्यतालिका अनुसार असार ६ गतेभित्र नतिजा प्रकाशित गर्ने योजना थियो । तर, उत्तरपुस्तिका परीक्षणमा भएको ढिलाइका कारण तालिका अनुसारको नतिजा प्रकाशन सम्भव भएन ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार, चैतमा शिक्षकहरूले गरेका आन्दोलनका कारण उत्तरपुस्तिका मूल्याङ्कनमा झन्डै ३२ दिन ढिलाइ भएको छ ।

गत वर्ष चैत २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षकहरूले काठमाडौँमा सडक आन्दोलन गरेका थिए । आन्दोलनकै कारण उत्तरपुस्तिका समयमै परीक्षण गर्न नसकिएको र त्यसले सम्पूर्ण प्रक्रिया प्रभावित भएको भट्टराईले जानकारी दिए ।

हाल उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएर नतिजा इन्ट्रीको काम भइरहेको उनले बताए । ‘सम्परीक्षण सकिएपछि इन्ट्री र प्रोसेसिङमा मात्रै ३५ दिन लाग्छ,’ उनले भने, ‘शिक्षक आन्दोलनले ती ३५ दिनलाई सुरु गर्नमै ३२ दिन ढिलो गरायो ।’

ढिलाइलाई घटाउन बोर्डले डबल सिफ्टमा काम गरिरहेको भट्टराईको भनाइ छ । ‘हामी दिनरात काम गरेर ३२ दिनको ढिलाइलाई १०–१६ दिनमा झार्ने प्रयास गरिरहेका छौं,’ उनले स्पष्ट पारे ।

बोर्डले हाल असारको तेस्रो वा चौथो साता भित्रमा नतिजा प्रकाशित गर्ने लक्ष्य राखेको छ । यद्यपि, सटिक मिति भने अझै तय भइसकेको छैन ।

यस वर्ष चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए । नतिजा ढिलाइ भएपछि कक्षा ११ को भर्ना प्रक्रिया पनि प्रभावित हुने देखिएको छ ।

बोर्डको वार्षिक कार्यतालिका अनुसार असार ६ भित्र नतिजा प्रकाशित गर्ने, असार २२ सम्म पुनर्योगको लागि आवेदन लिने, साउन १२ गते पुनर्योग नतिजा सार्वजनिक गर्ने र साउन १९–२० गते पूरक परीक्षा सञ्चालन गरिने योजना थियो । पूरक परीक्षाको नतिजा भदौ २० भित्र सार्वजनिक गर्ने योजना पनि कार्यतालिकामा समावेश थियो । तर, मुख्य नतिजा नै ढिलाइ हुने भएपछि बाँकी कार्यक्रमहरू पनि पछि सर्न सक्ने संकेत देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ९, सोमबार ०७:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP