मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खिजीदेम्बामा पहिलोपटक शव वहान सञ्चालन, दाताको साथ

3.1K
SHARES
खिजीदेम्बामा पहिलोपटक शव वहान सञ्चालन, दाताको साथ

ओखलढुङ्गा (खिजीफलाटे) । खिजीदेम्बा गाउँपालिका अब शव बोक्न ट्र्याक्टर रिजर्भ गर्नुपर्ने बाध्यताबाट मुक्त भएको छ । गाउँपालिकाले पुरानो, थन्किएको एम्बुलेन्सलाई मर्मत गरी शव वहानको रूपमा सञ्चालनमा ल्याएको छ । यो कार्य स्थानीय सरकारको पहल र वैदेशिक दाताको सहयोगमा सम्भव भएको हो ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको अगुवाइमा थालिएको यो अभियानले गाउँको स्वास्थ्य सेवामा एउटा संवेदनशील र पूर्वाधारको दृष्टिले लामो समयदेखि उपेक्षित क्षेत्रको अभाव टारेको छ । शेर्पा समाज वेल्जियम र जर्मनको आर्थिक सहयोगले ९ लाख १३ हजार रुपैयाँको लागतमा बिग्रिएको एम्बुलेन्स मर्मत गरिएको हो । मर्मत गर्ने वर्कसपले समेत ६३ हजार रुपैयाँ छुट दिएको पालिकाले जानकारी दिएको छ ।

दुवै देश पुगेका अध्यक्ष, गीत गाउँदै गरे अपिल

खिजीदेम्बा अध्यक्ष गम्बु शेर्पा राष्ट्रिय स्तरका गायक पनि हुन् । यही पहिचानलाई प्रयोग गर्दै उनले वेल्जियम र जर्मनस्थित शेर्पा समाजको ल्होसार विशेष कार्यक्रममा सांगीतिक प्रस्तुति दिएर गाउँका लागि शव वहान आवश्यक रहेको अपिल गरेका थिए । उनको भावनात्मक अपिलले दाताहरूको मन छोयो र सहकार्यका ढोका खुले ।

शव वहान नहुँदा अपमानजस्तै बाध्यता

अहिलेसम्म खिजीदेम्बामा शव वहानको अभावले मृत्यु पश्चातको प्रक्रियालाई पीडादायक बनाइरहेको थियो । कुनै सदस्य गुमाएका परिवार शव पोष्टमार्टम गर्न रुम्जाटार वा रामेछापको मन्थली लैजान महँगो भाडा तिरेर ट्याक्टर वा निजी सवारी खोज्न बाध्य थिए । शव बोकेर सडकमै रोकिने, गाडी नपाउने, मानवीय गरिमामा आँच आउने अवस्था थियो ।

गाउँपालिका अध्यक्ष शेर्पा भन्छन्, ‘हामीसँग एम्बुलेन्स थिए तर त्यो थन्किएको थियो । एउटा सानो पहलबाट अहिले त्यो सेवा बन्न सक्यो । अब कसैको मृत्यु भएपछि परिवारलाई अपमानजनक यात्रा गर्नुपर्दैन ।’

सांस्कृतिक पार्कमा समेत सहयोग

शेर्पा समाज वेल्जियम र जर्मनले खिजीदेम्बाको सांस्कृतिक पहिचान जोगाउने अभियानमा पनि हातेमालो गर्ने भएका छन् । गाउँमा निर्माण गरिने सांस्कृतिक पार्कमा समेत सहयोग गर्न दाताहरूले प्रतिबद्धता जनाएका छन् ।

खिजीदेम्बा जिल्लाकै पहिलो पालिका

शव वहान सञ्चालन गर्ने खिजीदेम्बा ओखलढुङ्गाको पहिलो स्थानीय तह हो । जिल्लाका अन्य पालिकामा अझै एम्बुलेन्स सेवा नपुगेको अवस्थामा, खिजीदेम्बाले पाँचवटा एम्बुलेन्स सञ्चालन गरी उदाहरणीय पहल देखाएको छ ।

अन्ततः– मानवीय सेवामा संगीतको माध्यम

यो उदाहरणले देखाउँछ— कुनै पनि सामाजिक पूर्वाधारको खाँचो पुरा गर्न सरकारको बजेटभन्दा पनि इच्छाशक्ति, समुदायको विश्वास र संलग्नता महत्वपूर्ण हुन्छ । गाउँको सेवा र पहिचानको प्रतिनिधित्व गर्ने एकजना गायक अध्यक्षले आवाज मात्र होइन, सेवा पनि पुर्‍याएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ६, शुक्रबार ०७:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP