मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बढी भाडा लिए कारबाही हुने, यात्रुसँग नम्र व्यवहार गर्न व्यवसायीलाई निर्देशन

520
SHARES
बढी भाडा लिए कारबाही हुने, यात्रुसँग नम्र व्यवहार गर्न व्यवसायीलाई निर्देशन

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वका बेला यात्रुसँग सरकारले निर्धारण गरेकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायी तथा चालकलाई निर्देशन दिएको छ ।

महासंघले चाडपर्वमा यात्रुको चाप बढ्ने भन्दै भाडा असुलीमा मनोमानी नगर्न व्यवसायीलाई सचेत गराएको हो । महासचिव डेकनाथ गौतमले तोकिएकोभन्दा बढी भाडा लिने सवारीसाधनमाथि कारबाही हुने स्पष्ट पारे ।

दशैलाई लक्षित गर्दै सरकारले असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ । यातायात व्यवस्था विभाग, महासंघ, मजदुर संघ–संगठन, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा यात्रु तथा मालवाहक सवारीको आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउने तयारी गरिएको हो ।

महासंघले सातै प्रदेश, जिल्ला समिति तथा सदस्य संघ–संस्थालाई चाडपर्वका समयमा यात्रुलाई सहज सेवा उपलब्ध गराउन आवश्यक निर्देशन दिएको जनाएको छ । काठमाडौंको गोङ्गबु बसपार्कमा सञ्चालन हुने अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीलाई अनिवार्य रूपमा पोसाक र परिचयपत्र लगाउनसमेत भनिएको छ ।

यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउने, नम्र व्यवहार गर्ने र सुरक्षित यात्राको वातावरण बनाउने विषयलाई महासंघले प्राथमिकतामा राखेको छ ।

ठूला सवारीमा रोक, अत्यावश्यक सामग्रीमा छुट
दशैँको भीड व्यवस्थापनका लागि असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरसहित ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । तर खाद्यान्न, औषधि, फलफूललगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने सञ्चालन गर्न पाउनेछन् ।

त्यस्तै, घटस्थापनादेखि कात्तिक १० गतेसम्म देशभर यात्रुवाहक सवारीसाधनका लागि लामो तथा मध्यम दूरीका रुट परमिट खुला गरिएको छ । यद्यपि सडकको अवस्था र जोखिमका आधारमा निश्चित आकार तथा प्रकारका सार्वजनिक सवारीसाधनमाथि लगाइएका प्रतिबन्ध भने कायम रहने महासंघले जनाएको छ ।

प्रमुख नाकामा यात्रु सहायता कक्ष
चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोग पुर्‍याउन काठमाडौं उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षलाई प्रभावकारी बनाइने भएको छ । यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गरी ती कक्षको अनुगमन तथा सहजीकरण गर्नेछ ।

महासंघले गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा समेत जिम्मेवारी तोकेको छ ।

यसैबीच, दशैँको यात्रालाई सुरक्षित बनाउन सवारीसाधनको प्राविधिक अवस्था परीक्षणलाई पनि प्राथमिकता दिइएको छ । यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाएर गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षण गर्ने व्यवस्था मिलाइने महासंघले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २२, बिहीबार ०६:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP