मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोप्य सूचना चुहाउने जोसुकैलाई कानुनी कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

364
SHARES
गोप्य सूचना चुहाउने जोसुकैलाई कानुनी कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिएका छन् ।

गृह मन्त्रालय र मातहतका सुरक्षा निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय मर्यादा र जिम्मेवारीविपरीत गोप्य सूचना बाहिर लैजाने प्रवृत्तिप्रति सरकार गम्भीर रहेको उनले बताएका हुन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले आफूले लामो समयदेखि राज्यका संवेदनशील सूचना चुहाउने प्रवृत्तिलाई नजिकबाट नियालिरहेको उल्लेख गरेका छन् ।

उनको भनाइ यस्तो समयमा आएको हो, जतिबेला गृह मन्त्रालयले सोमबार सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सूचना चुहाएको आरोपमा निलम्बन गरेको थियो । दाहालमाथि लागेको आरोपबारे छानबिन गर्न सरकारले सशस्त्र प्रहरीको मानव स्रोत विभागमा कार्यरत एआईजी अन्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृतसमेत तोकेको छ ।

गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारीसँग जोडिएको विषय भएको बताएका छन् । पदमा रहँदा प्राप्त हुने सूचनाको संरक्षण गर्नु सम्बन्धित व्यक्तिको दायित्व भएको उनको भनाइ छ ।

‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो,’ उनले लेखेका छन्, ‘पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन ।’

उनले सुरक्षा निकाय तथा राज्यका संयन्त्रबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गोप्य जानकारीसमेत अपराध नियन्त्रण, अनुसन्धान र भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण हुने उल्लेख गरेका छन् ।

गुरुङले राज्यले सुम्पिएको गोपनीयताको जानाजान दुरुपयोग गर्ने र त्यसबाट देश तथा सम्बन्धित संगठनप्रति विश्वासघात गर्ने कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् ।

‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ,’ उनले भनेका छन् ।

गृहमन्त्रीको पछिल्लो अभिव्यक्तिले गृह प्रशासन तथा सुरक्षा निकायभित्र गोप्य सूचना संरक्षण र सूचना चुहावट नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेको संकेत गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २०, मंगलवार ०६:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP