मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संघीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक छलफल र पारित हुने

598
SHARES
संघीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक छलफल र पारित हुने

काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने कार्यतालिका रहेको छ ।

प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्नेछिन् ।

मन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ तथा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्नेछन् ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी, ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्ने कार्यक्रम पनि रहेको छ ।

सभामुख डोलप्रसाद अर्यालले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदबाट प्राप्त अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्नेछन् । साथै, राष्ट्रपतिबाट प्राप्त पत्र सभामा पढेर सुनाउने कार्यसूची पनि रहेको छ ।

राष्ट्रिय सभामा दुई विधेयकसम्बन्धी कार्यसूची
राष्ट्रिय सभाको बैठकमा पनि सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्नेछन् ।

प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मा प्रतिनिधिसभाले गरेको संशोधनलाई सहमति प्रदान गर्ने प्रस्ताव बैठकमा प्रस्तुत हुनेछ ।

त्यस्तै, ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यसूचीसमेत रहेको छ ।

यसैबीच, आज संघीय संसद्अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक पनि बस्नेछ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने कार्यक्रम रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १६, शुक्रबार ०१:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP