मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर बदलीसँगै वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

507
SHARES
देशभर बदलीसँगै वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश भू–भागमा बिहीबार मौसम बदली रहने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम अधिकांश बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिममा साधारणतया बदली रहनेछ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा पनि यस्तै मौसम रहने पूर्वानुमान गरिएको छ ।

तराई क्षेत्रमा पनि वर्षाको प्रभाव रहने देखिएको छ । मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका धेरै स्थानमा तथा सुदूरपश्चिमको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

वर्षासँगै कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ । मेघगर्जन, चट्याङ र हावाहुरीको समयमा खुला स्थानमा नबस्न तथा आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

राति पनि वर्षा र हिमपातको सम्भावना
रातिको समयमा पनि देशको मौसममा उल्लेख्य सुधार नआउने पूर्वानुमान छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली तथा कर्णाली र सुदूरपश्चिममा साधारणतया बदली रहनेछ ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका धेरै स्थान तथा सुदूरपश्चिमको तराईका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुनसक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई थप सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

लगातार वर्षा हुने सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्नसक्ने जोखिमप्रति पनि सचेत रहन आवश्यक देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ८, बिहीबार ००:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP