मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विपद् राहतमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन, व्यवसाय पुनरुत्थान प्याकेज ल्याउने तयारी

234
SHARES
विपद् राहतमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन, व्यवसाय पुनरुत्थान प्याकेज ल्याउने तयारी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद् व्यवस्थापनका लागि नागरिकबाट प्राप्त सहयोगलाई सरकारले ठूलो भरोसाका रूपमा लिएको बताएका छन् । उनले राहत तथा उद्धारका लागि संकलित रकम प्रभावित क्षेत्रमा तत्काल पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित विपद्बाट भएको आर्थिक क्षति तथा प्रतिकार्य योजनासम्बन्धी छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले राहत कोषमा जम्मा भएको रकम निकासा गर्न प्रशासनिक झन्झट र ढिलासुस्ती हटाउन निर्देशन दिएका हुन् ।

उनले नागरिकले सरकारमाथि विश्वास गरेर राहत कोषमा सहयोग गरिरहेको उल्लेख गर्दै रकम केन्द्रमै थुप्रिने र स्थानीय तहमा नपुग्ने अवस्था आउन नहुने बताए । प्रभावित क्षेत्रमा तत्काल आवश्यकता पहिचान गरी अर्थ मन्त्रालय र राहत कोषमार्फत रकम निकासा गर्नुपर्ने उनको भनाइ थियो ।

वाग्लेले प्रभावित १६ पालिकामध्ये तत्काल अत्यावश्यक देखिएका चार पालिकालाई प्राथमिकतामा राखेर सोमबारदेखि नै कोष परिचालन गर्न सुझाव दिए । राहतका लागि मेयर वा प्रमुख जिल्ला अधिकारीको औपचारिक पत्र कुर्दाकुर्दै समय खेर फाल्न नहुने उनले बताए ।

पुनर्निर्माणमा जीविकोपार्जनलाई प्राथमिकता
अर्थमन्त्री वाग्लेले विगतको गोरखा भूकम्पपछि लाप्राकमा निर्माण गरिएका धेरै घर अझै प्रयोगविहीन रहेको उदाहरण दिँदै विपद्पछिको पुनर्निर्माण केवल भौतिक संरचना निर्माणमा सीमित हुन नहुने बताए ।

इन्जिनियरिङ पक्षसँगै स्थानीय बासिन्दाको सामाजिक परिवेश, रोजगारी र जीविकोपार्जनलाई पनि पुनर्निर्माणको योजनामा समेट्नुपर्ने उनको भनाइ छ । लाप्राकमा करिब ४०० घर निर्माण भए पनि पशुपालनका लागि आवश्यक संरचना नहुँदा स्थानीय पुरानै थातथलोमा फर्किएको उदाहरण उनले प्रस्तुत गरे ।

उनले आगामी पुनर्निर्माणमा स्थानीयको जीवनशैली र आर्थिक गतिविधिलाई केन्द्रमा राख्नुपर्ने बताए ।

दुई चरणमा विपद् क्षतिको मूल्याङ्कन
वाग्लेले विपद्पछिको आवश्यकता मूल्याङ्कनलाई दुईवटा खाकामा अघि बढाउनुपर्ने बताए । पहिलो चरणमा सार्वजनिक तथा निजी क्षेत्रमा भएको वास्तविक भौतिक क्षति र त्यसबाट सिर्जित आर्थिक घाटाको तत्काल विवरण संकलन गरिनेछ ।

त्यसपछि पुनर्स्थापना, पूर्वाधार निर्माण तथा एकीकृत बस्ती विकासलाई समेटेर दीर्घकालीन गुरुयोजना तयार पारिने उनले बताए । यसै साताको बिहीबार साँझसम्म प्रारम्भिक अर्थात् ‘र्‍यापिड एसेसमेन्ट’ प्रतिवेदन तयार गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय सहयोग जुटाउन तथ्यसहित विपद् उठाउनुपर्ने
जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेको विपद्को विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड दिए ।

संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीले तथ्य र प्रमाणसहित नेपालको विपद्को अवस्था प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय सहयोग जुटाउन सहज हुने उनको भनाइ छ ।

व्यवसाय पुनरुत्थान प्याकेज ल्याउने तयारी
विपद्का कारण अर्थतन्त्र र जनजीवनमा परेको असर कम गर्न सरकारले छिट्टै व्यवसाय पुनरुत्थान (बिजनेस रिकभरी) प्याकेज ल्याउने तयारी गरिरहेको अर्थमन्त्री वाग्लेले बताए ।

उनका अनुसार पुनर्निर्माण तथा पूर्वाधार विकाससँगै नागरिकको जीवनयापनमा बढेको लागतलाई समेत सम्बोधन गरिनेछ । सरकारले जनताको आवश्यकता र अवस्थाअनुसार लचिलो भएर राहत तथा पुनरुत्थानका कार्यक्रम अघि बढाउने उनको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १५, सोमबार ११:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP