मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जापानिज इन्सेफलाइटिस बढ्दै गएपछि सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह

416
SHARES
जापानिज इन्सेफलाइटिस बढ्दै गएपछि सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेई) को संक्रमण बढ्दै गएको भन्दै सर्वसाधारणलाई सतर्क रहन र बच्ने उपाय अपनाउन आग्रह गरेको छ ।

महाशाखाले आइतबार जारी गरेको सूचनाअनुसार चालु वर्ष हालसम्म देशभर ८० जनामा जेई संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भइसकेको छ । संक्रमण २५ जिल्लाका ५९ स्थानीय तहमा फैलिएको जनाएको छ ।

झापामा सबैभन्दा बढी मृत्यु
जेईबाट मृत्यु हुनेमध्ये सबैभन्दा धेरै झापाका ६ जना रहेका छन् । झापामा १० जनामा संक्रमण देखिएकामा ६ जनाको ज्यान गएको हो । त्यसपछि कैलाली र मोरङमा ७–७, सप्तरी र कञ्चनपुरमा ६–६ तथा चितवन, सुनसरी र नवलपरासी (पूर्व) मा ५–५ जनामा संक्रमण पुष्टि भएको छ ।

महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार पुष्टि भएका बिरामीमध्ये ८६ प्रतिशतले जेईविरुद्धको खोप लगाएका थिएनन् । मृत्यु भएका २१ जनाले पनि खोप नलगाएको जानकारी उनले दिए ।

कसरी सर्छ जेई ?
जापानिज इन्सेफलाइटिस संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट फैलिने भाइरल रोग हो । विशेषगरी धानखेत र सुँगुर पालन हुने क्षेत्रमा यसको जोखिम बढी रहने गरेको छ । संक्रमित सुँगुर, बङ्गुर वा हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस सर्न सक्छ ।

पछिल्लो तथ्यांकअनुसार ८७ प्रतिशत संक्रमण तराई र भित्री मधेशका जिल्लामा देखिएको छ । यद्यपि इलाम, काठमाडौं, काभ्रेपलाञ्चोक, सिन्धुली र सुर्खेतजस्ता पहाडी जिल्लामा पनि संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

बढी जोखिममा को छन् ?
पुष्टि भएका ८० संक्रमितमध्ये ५१ जना (६४ प्रतिशत) १५ वर्षभन्दा माथिका छन् । मृत्यु हुनेमध्ये ८१ प्रतिशत ५० वर्षभन्दा माथिका रहेका छन् । संक्रमितमध्ये ४३ पुरुष र ३७ महिला छन् भने केस फ्याटालिटी रेट २६ प्रतिशत पुगेको छ ।

लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस्
महाशाखाले उच्च ज्वरो, अत्यधिक टाउको दुख्ने, वाकवाकी, बान्ता, झट्का आउने, बेहोस हुने वा चेतनामा परिवर्तनजस्ता लक्षण देखिए घरमै उपचार नगरी तत्काल नजिकको स्वास्थ्य संस्था वा अस्पताल पुग्न आग्रह गरेको छ । समयमै उपचार पाए जटिलता र मृत्युको जोखिम घटाउन सकिने स्वास्थ्यकर्मीको भनाइ छ ।

यसरी अपनाउनुहोस् सुरक्षा
जेईबाट बच्नका लागि परिवार कल्याण महाशाखाले यी उपाय अपनाउन आग्रह गरेको छ :

– झ्याल–ढोकामा जाली लगाउने ।

– घर वरिपरि पानी जम्न नदिने ।

– पूरा शरीर ढाकिने कपडा लगाउने ।

– सधैं झुलभित्र सुत्ने ।

– लामखुट्टे भगाउने धूप वा रिपेलेन्ट प्रयोग गर्ने ।

– शरीरमा लामखुट्टेबाट बचाउने मलम लगाउने ।

– १२ महिनाका बालबालिकालाई जेई खोप अनिवार्य लगाउने, छुटेमा ५ वर्षसम्म खोप लगाउने ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ७, आईतवार ०९:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP