मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खिजीदेम्बामा ‘आदिवासीको भूमि तथा संस्कृति संरक्षण ऐन–२०८३’ माथि कानुनी संवाद, हिउँदे गाउँसभाबाट पारित गर्ने तयारी

2.7K
SHARES
खिजीदेम्बामा ‘आदिवासीको भूमि तथा संस्कृति संरक्षण ऐन–२०८३’ माथि कानुनी संवाद, हिउँदे गाउँसभाबाट पारित गर्ने तयारी

काठमाडौं । ३२औँ विश्व आदिवासी दिवसको अवसरमा खिजीदेम्बा गाउँपालिका, ओखलढुंगाका जनप्रतिनिधि र आदिवासी अधिकारकर्मीबीच ‘आदिवासीको भूमि तथा संस्कृति संरक्षण ऐन–२०८३’ को मस्यौदामाथि एकदिने कानुनी संवाद तथा परामर्श सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ खिजीदेम्बा गाउँ परिषद, आदिवासीहरूको मानवअधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप) र सुनुवार सेवा समाज संघीय समितिको संयुक्त आयोजनामा बिहीबार काठमाडौंको बौद्धमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा सबै वडाध्यक्ष सहभागी भई मस्यौदाका विभिन्न दफामा छलफल गरेका थिए ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले विवादरहित, समावेशी र उदाहरणीय ऐन निर्माण गर्ने साझा प्रतिबद्धता व्यक्त गर्दै हिउँदे गाउँसभाबाट ऐन पारित गर्ने लक्ष्य रहेको बताए । उनले मस्यौदालाई थप परिमार्जन गर्न लाहुर्निपसँग निरन्तर सहकार्यको आग्रह पनि गरे ।

वडा नं. ५ का अध्यक्ष रामकुमार सुनुवारले असारको गाउँसभामा बजेटलाई प्राथमिकता दिनुपरेकाले ऐन पारित हुन नसकेको स्पष्ट पार्दै ऐन नबनाउने कुनै मनसाय नरहेको बताए । उनका अनुसार प्राप्त सुझाव समेटेर संशोधित मस्यौदा हिउँदे गाउँसभामा प्रस्तुत गरिनेछ ।

कार्यक्रममा न्यायिक समितिका ऐन–नियम मस्यौदा संयोजक तथा वडा नं. २ का अध्यक्ष सुरेन्द्रशंकर घिमिरेले मस्यौदामा रहेका केही अस्पष्ट विषयबारे धारणा राखे । उनले संरक्षण तथा व्यवस्थापन समिति गठन, सदस्य सचिवको व्यवस्था, कोष सञ्चालन तथा ‘आदिवासी भूमि’को स्पष्ट परिभाषाजस्ता विषयमा थप कानुनी स्पष्टता आवश्यक रहेको बताए ।

उपाध्यक्ष सुशिला तामाङले संरक्षण समितिमा कम्तीमा ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संशोधित मस्यौदा पहिलेभन्दा धेरै परिष्कृत भएको बताइन् । उनले विज्ञहरूको सहयोगमा गाउँ कार्यपालिकाबाट ऐन निर्माण प्रक्रिया छिट्टै अघि बढाइने जानकारी दिइन् ।

वडा नं. ३ का अध्यक्ष टंकराज सुनुवार र वडा नं. ६ का अध्यक्ष तथा प्रवक्ता पासाङ निमा शेर्पाले पनि विवादित बुँदालाई छलफलमार्फत टुंग्याउँदै संक्षिप्त, स्पष्ट र कार्यान्वयनयोग्य ऐन बनाउनुपर्ने धारणा राखे ।

राष्ट्रिय आदिवासी जनजाति महासंघकी अध्यक्ष शोभा सुनुवारले आदिवासी महिलाको परम्परागत ज्ञान, जडीबुटी, खाद्य संस्कृति र प्राकृतिक स्रोत संरक्षणमा रहेको भूमिकालाई ऐनले संस्थागत रूपमा सम्बोधन गर्नुपर्ने बताइन् । उनले संरक्षण समितिमा ५० प्रतिशत महिला सहभागिता तथा महिला महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिन् ।

सुनुवार सेवा समाजका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष अमृतबहादुर सुनुवारले ऐनले खिजीदेम्बाका मौलिक आदिवासी समुदायको भूमि, संस्कृति र स्वतन्त्र, पूर्व जानकारीसहितको मञ्जुरी (FPIC) को अधिकारलाई स्पष्ट रूपमा संरक्षण गर्नुपर्ने बताए । उनले जलवायु परिवर्तन र प्राकृतिक स्रोत संरक्षणसँग आदिवासी समुदायको सम्बन्धलाई कानुनी रूपमा मान्यता दिनुपर्ने धारणा राखे ।

आयोजक संस्थाहरूले विगत एक वर्षदेखि खिजीदेम्बा गाउँपालिकामा जल, जंगल र जमिनमाथिको आदिवासी अधिकार, आइएलओ–१६९ तथा संयुक्त राष्ट्रसंघीय आदिवासी अधिकार घोषणापत्र (UNDRIP) सम्बन्धी कानुनी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन् । गत वैशाखमा सम्पन्न तीनदिने कार्यशालाले १३ सदस्यीय ऐन मस्यौदा समिति गठन गरेको थियो, जसको कानुनी परामर्श लाहुर्निपले प्रदान गरेको थियो ।

कार्यक्रमको उद्घाटन नेपाल आदिवासी जनजाति महासंघ खिजीदेम्बा गाउँ परिषदका अध्यक्ष कमलकृष्ण तामाङले गरेका थिए भने लाहुर्निपका सचिव भीम राईले कानुनी सहजीकरण गरेका थिए । कार्यक्रममा खिजीदेम्बा गाउँपालिकाका आदिवासी समुदायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २९, शुक्रबार ०८:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP