मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसदीय क्यालेन्डर सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समावेश भएन

260
SHARES
संसदीय क्यालेन्डर सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समावेश भएन

काठमाडौं । प्रतिनिधिसभाले आगामी असार १५ गतेसम्मको संसदीय कार्यतालिका सार्वजनिक गरेको छ । तर, सार्वजनिक गरिएको क्यालेन्डरमा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने समावेश गरिएको छैन ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि बैठकको पहिलो एक घण्टा छुट्याउनुपर्ने व्यवस्था छ । नियमावलीमा सभामुखले अनिवार्य रूपमा यस्तो समय निर्धारण गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, तोकिएको दिन बैठक बस्न नसकेमा त्यसपछिको पहिलो बैठकमै प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान पनि नियमावलीमा राखिएको छ । तर आगामी असार १५ गतेसम्मको कार्यतालिकामा यस्तो कुनै कार्यक्रम राखिएको छैन ।

नियमअनुसार जेठ र असार महिनामा कम्तीमा एक–एक पटक प्रधानमन्त्रीसँग सांसदहरूले प्रत्यक्ष प्रश्न गर्ने अवसर पाउनुपर्ने भए पनि दुवै महिनाको तालिकामा यो विषय छुटेको देखिएको छ ।

संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले बजेटसम्बन्धी कार्यव्यस्तताका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम तालिकामा नराखिएको बताएका छन् । उनका अनुसार अहिले बजेटमाथिको छलफललाई प्राथमिकता दिइएको छ ।

संसदीय क्यालेन्डरअनुसार जेठ ४ गतेदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनेछ । ६ गते उठेका प्रश्नको जवाफ दिने कार्यक्रम राखिएको छ ।

त्यसैगरी, जेठ १३ गते आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरिनेछ भने १५ गते आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान संसद्मा टेबुल हुनेछ । सोही दिन आर्थिक विधेयक पनि प्रस्तुत गरिने कार्यसूची छ ।

जेठ १८ गतेदेखि बजेटमाथिको छलफल सुरु हुने तय गरिएको छ । २० गते अर्थमन्त्रीले उठेका प्रश्नहरूको जवाफ दिनेछन् भने विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गरिनेछ ।

जेठ २७ गतेदेखि विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल र खर्च कटौती प्रस्तावमाथि प्रक्रिया अघि बढाइनेछ । असार १ र २ गते सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम तय गरिएको छ ।

कार्यतालिकाअनुसार असार ३ गते राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ भने असार ८ गते दफावार छलफलपछि ती विधेयक पारित गर्ने तयारी गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ३, आईतवार ०१:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP