मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानाध्यापकलाई ‘स्वागत नगरेको’ भन्दै सांसद पोखरेलको अभिव्यक्ति विवादमा, चर्कियो आलोचना

13
SHARES
प्रधानाध्यापकलाई ‘स्वागत नगरेको’ भन्दै सांसद पोखरेलको अभिव्यक्ति विवादमा, चर्कियो आलोचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकप्रति दिएको अभिव्यक्ति विवादमा तानिएको छ । गृह जिल्ला ओखलढुङ्गाको एक विद्यालयमा पुगेका क्रममा स्वागत गर्न नआएको भन्दै उनले प्रधानाध्यापकलाई सार्वजनिक रूपमा हप्काएको घटना बाहिरिएपछि पार्टीभित्र र बाहिर तीव्र आलोचना सुरु भएको हो ।

पूर्व एआइजीसमेत रहेका पोखरेलले आफू आउने जानकारी हुँदाहुँदै पनि स्वागत गर्न ननिस्किएको भन्दै प्रधानाध्यापकप्रति आक्रोश व्यक्त गरेका थिए । ‘म आउँदैछु भनेपछि तपाईं बाहिर निस्किनु पर्छ, तपाईं कर्मचारी हो,’ भन्दै उनले आफूलाई ‘रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी’ र ‘माननीय’ भएको उल्लेख गर्दै असन्तुष्टि जनाएका थिए । उनले ‘जिल्लाको माननीय आउँदा हेडमास्टर भित्रै बस्ने?’ भन्दै दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद चुलिएको हो ।

यस घटनापछि पूर्वशिक्षामन्त्री महावीर पुनले कडा टिप्पणी गर्दै यस्तो व्यवहार अस्वीकार्य भएको बताएका छन् । उनले सांसद जनताको सेवक भएको स्मरण गराउँदै पदको दुरुपयोग गर्ने प्रवृत्तिलाई तत्काल रोकिनुपर्ने बताए । “यस्तो व्यवहार गर्ने व्यक्तिलाई पदमा राख्नु उपयुक्त हुँदैन,” भन्दै उनले या त सार्वजनिक माफी माग्न वा जनताले फिर्ता बोलाउनुपर्ने धारणा राखेका छन् ।

रास्वपाभित्रै पनि पोखरेलको अभिव्यक्तिप्रति असन्तुष्टि देखिएको छ । पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सामाजिक सञ्जालमार्फत सांसदलाई विनम्र रहन आग्रह गर्दै पद क्षणिक हुने स्मरण गराएका छन् । “केही समयअघिसम्म मत माग्दै नमस्ते गर्ने अवस्था थियो, त्यसलाई बिर्सिनु हुँदैन,” भन्ने उनको सन्देश छ ।

पत्रकार तथा शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले पनि घटनाप्रति आपत्ति जनाएका छन् । उनले सार्वजनिक रूपमा एक प्रधानाध्यापकको अपमान गर्ने व्यक्तिलाई ‘माननीय’ भन्ने कि निन्दा गर्ने भन्ने प्रश्न उठाएका छन् ।

त्यस्तै, पार्टीका कार्यकर्तामाझ पनि यो विषयले तरंग ल्याएको छ । सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आउँदै गर्दा रास्वपाका सक्रिय कार्यकर्ता स्वस्तिका लामिछानेले नेताको व्यवहारप्रति असन्तुष्टि जनाएकी छन् । उनले जनतासँग संवाद गर्ने शैली सिक्नुपर्ने सुझाव दिँदै मतदाताको योगदानको सम्मान गर्न आग्रह गरेकी छन् । “जनताले बनाएको पद हो, त्यसैले जनतामाथि धाक देखाउने होइन,” भन्ने उनको भनाइ छ ।

यस घटनाले जनप्रतिनिधिको आचरण र सार्वजनिक व्यवहारबारे पुनः बहस सुरु गराएको छ । सार्वजनिक पदमा रहेका व्यक्तिहरूले देखाउने व्यवहारले समग्र राजनीतिक संस्कृतिमा प्रभाव पार्ने भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने आवाज उठ्न थालेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १२, शनिबार ०७:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP