मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘एमाले फलामको टुक्रा होइन, स्पात हो’: प्रधानमन्त्री ओली

2.8K
SHARES
‘एमाले फलामको टुक्रा होइन, स्पात हो’: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सामान्य दल नभई सिद्धान्त, विचार र संगठनको बलमा निर्माण भएको सुदृढ राजनीतिक शक्ति भएको बताएका छन् ।

मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेलाई साधारण फलामको टुक्रासरह सम्झनु भूल हुने बताएका हुन् । ‘कोही दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्छ भने त्यो उसको समस्या हो,’ उनले कटाक्ष गर्दै भने, ‘एमाले कुनै भकिम्लाको काठ होइन, स्पातबाट बनेको पार्टी हो ।’

ओलीले जनताको बहुदलीय जनवाद (जबज) कुनै अलङ्कारिक नारामात्र नभई विगत तीन दशकदेखि व्यवहारमा उतारिएको कार्यनीतिमा आधारित रहेको बताए । उनका अनुसार, एमाले विचार, उद्देश्य र सङ्गठित क्षमताका आधारमा विश्व वाम आन्दोलनमै एउटा पृथक शक्ति हो ।

‘चिभे चराले चिल लखेटेझैं…’
एमालेविरुद्ध भइरहने आरोपको श्रृङ्खलाप्रति टिप्पणी गर्दै ओलीले विचार र नेतृत्वको दम नै पार्टीको बल भएको बताए । ‘झुसे बारुलो हैन, चिभे चराले पनि कहिलेकाहीँ चिललाई लखेट्न सक्छ,’ उनले प्रतीकात्मक भाषा प्रयोग गर्दै भने, ‘आकार मात्र होइन, विचारको गहिराई, उद्देश्यको निष्ठा हेर्नुपर्छ ।’

उनले एमालेलाई बदनाम गर्न विगतदेखि नै नियोजित प्रयास भएको स्मरण गराए । ‘मदन भण्डारीको बेलामा पनि अनेक आरोप लगाइए— चार श्रीमती छन् भनियो, सहकारी ठग भनियो, भूमिगत संघर्ष नदेखिने भन्दै नेतृत्वमा प्रश्न उठाइयो,’ ओलीले भने ।

विभाजन र आरोपको सामना गर्दै अघि बढेको पार्टी
प्रधानमन्त्री ओलीका अनुसार, पार्टीविरुद्ध समय–समयमा झूटा मुद्दा खडा गरियो, जसबाट पार्टीमा विभाजनसमेत भयो । उनले महाकाली सन्धिको प्रसङ्ग उठाउँदै त्यसबेलाको इस्यु राष्ट्रवादको नाममा ‘नक्कली दम’ भएको दाबी गरे । ‘त्यतिबेला पनि महाकाली सन्धिलाई लिएर पार्टी तोड्न खोजियो । तर, म आज पनि त्यसको कार्यान्वयन पक्षमा छु,’ उनले प्रष्ट पारे ।

उनले पञ्चेश्वर परियोजना निकट भविष्यमै अघि बढ्ने विश्वास व्यक्त गर्दै भने, ‘नदी खोला बेचिएका होइनन्, राष्ट्रघात गर्न एमाले जन्मिएको छैन । राष्ट्रिय स्वाधीनता र हितमा एमाले कत्ति पनि सम्झौता गर्दैन ।’



अगुल्टो अगुल्टो   
  • २०८२ असार १४, शनिबार ११:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP