मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्वकप २०२६: साउदी–उरुग्वे र बेल्जियम–इजिप्ट बराबरीमा, स्पेनलाई क्याबो भर्डेले रोक्यो

208
SHARES
विश्वकप २०२६: साउदी–उरुग्वे र बेल्जियम–इजिप्ट बराबरीमा, स्पेनलाई क्याबो भर्डेले रोक्यो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पछिल्ला भएका खेलहरूमा साउदी अरब र उरुग्वे, बेल्जियम र इजिप्ट तथा स्पेन र क्याबो भर्डेले बराबरी खेल्दै अंक बाँडेका छन् । विभिन्न समूहका यी खेलपछि सम्बन्धित टोलीहरूले विश्वकप यात्राको सुरुआत समान अंकसहित गरेका छन् ।

समूह ‘एच’ अन्तर्गत अमेरिकाको मियामी गार्डेन्समा भएको प्रतिस्पर्धात्मक खेलमा साउदी अरब र उरुग्वेले १–१ को बराबरी खेले । नेपाली समयअनुसार बिहान ३ः४५ बजे सुरु भएको खेलमा साउदी अरब जितको निकै नजिक पुगे पनि अन्तिम समयमा गोल खाँदा ऐतिहासिक जितबाट वञ्चित भयो ।

खेलको पहिलो हाफमा साउदी अरबले उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वेमाथि दबाब बनाएको थियो । ४१औँ मिनेटमा डिफेन्डर अब्दुलेह अल अम्रीले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफ सकिँदा साउदी १–० ले अगाडि थियो ।

दोस्रो हाफमा उरुग्वेले आक्रामक रणनीति अपनाउँदै खेलमा फर्किने प्रयास गर्‍यो । साउदीले ८०औँ मिनेटसम्म अग्रता जोगाए पनि त्यसपछि सम्हालिन सकेन । ८०औँ मिनेटमा मिडफिल्डर म्याक्सिमिलियानो अराउजोले गोल गर्दै उरुग्वेलाई १–१ को बराबरीमा पुर्‍याए । उक्त गोल नै उरुग्वेका लागि हार टार्न पर्याप्त बन्यो ।

बराबरीसँगै समूह ‘एच’ मा दुवै टोलीले समान एक–एक अंकका साथ प्रतियोगिताको सुरुआत गरेका छन् ।

यस्तै, समूह ‘जी’ अन्तर्गत अमेरिकाको सियाटलमा भएको खेलमा बेल्जियम र इजिप्टले पनि १–१ को बराबरी खेल्दै अंक बाँडे ।

इजिप्टले १९औँ मिनेटमा अग्रता लिएको थियो । कप्तान मोहम्मद सलाहको पासमा इमाम अशोरले पेनाल्टी क्षेत्रबाट शक्तिशाली प्रहार गर्दै राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो गोल गरे ।

बेल्जियमले ६६औँ मिनेटमा अनुभवी स्ट्राइकर रोमेलु लुकाकुलाई मैदानमा उतारेपछि खेलमा सुधार ल्याएको थियो । त्यसक्रममा इजिप्टका मोहम्मद हानीले लुकाकुलाई रोक्ने प्रयासमा आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् ।

उता, सन् २०१० को विश्वकप विजेता स्पेन भने आफ्नो पहिलो खेलमै गोलरहित बराबरीमा रोकिएको छ । समूह ‘एच’ अन्तर्गत सोमबार राति भएको खेलमा नवप्रवेशी क्याबो भर्डेले स्पेनलाई ०–० को बराबरीमा रोकेको हो ।

स्पेनले खेलमा ७४ प्रतिशत बल पोसेसन राख्दै २३ शट प्रहार गरेको थियो, जसमध्ये आठ शट लक्ष्यमा थिए । टोलीले ११ वटा कर्नर पनि प्राप्त गरेको थियो । दोस्रो हाफमा युवा स्टार लामिन यमाललाई मैदानमा उतारे पनि स्पेनले गोल गर्न सकेन ।

यता, २६ प्रतिशत बल पोसेसनमा सीमित क्याबो भर्डेले ६ शट प्रहार गर्दा एक शट मात्र लक्ष्यमा राखेको थियो । रक्षात्मक रूपमा उत्कृष्ट प्रदर्शन गरेको क्याबो भर्डेले बलियो स्पेनलाई अंक बाँड्न बाध्य पार्‍यो ।

यस नतिजासँगै समूह ‘एच’ मा स्पेन र क्याबो भर्डेले समान एक–एक अंक जोड्दै तालिकाको शीर्ष दुई स्थान ओगटेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २, मंगलवार ००:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP