मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डाइभर्सन निर्माणपछि बीपी राजमार्ग आंशिक रूपमा सञ्चालन

2.3K
SHARES
डाइभर्सन निर्माणपछि बीपी राजमार्ग आंशिक रूपमा सञ्चालन

काठमाडौं । चौकीडाँडा–बर्खेखोला–नेपालथोक खण्डमा करिब चार किलोमिटर डाइभर्सन निर्माण भएपछि बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । ट्रयाक खुलेसँगै फसेका साना र ठूला सबै सवारीसाधन आवतजावत गर्न थालेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयकी सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार हिजो रातिदेखि निरन्तर भइरहेको कामपछि ट्रयाक प्रयोगयोग्य बनेको हो । “सिन्धुलीतर्फबाट भने पूर्णरूपमा नआए पनि महाभारत गाउँपालिका र मंगलटार क्षेत्रका बस्तीहरूबाट आएका सबैखाले गाडी पास भइसकेका छन्,” उनले बताइन् ।

यद्यपि ट्रयाक अझै सम्याउन बाँकी रहेको उनले स्पष्ट पारिन् । उनका अनुसार आज रातभर ग्रेडर र रोलरमार्फत लेभल मिलाउने र माटो बलियो बनाउने काम गरिँदैछ । “लेभल नमिलेका कारण जुनसुकै गाडी फस्न सक्छ । आज रातिदेखि माटो च्याप्ने काम सकिएपछि भोलिदेखि निर्बाध सञ्चालन हुन्छ,” अधिकारीले भनिन् ।

गत वर्ष यस्तै क्षतिले उक्त क्षेत्रमा आठ किलोमिटर सडक अवरुद्ध हुँदा यातायात सञ्चालनका लागि १५ दिन लागेको थियो । त्यतिबेला २२ किलोमिटर सडकमध्ये धुलिखेल–सिन्धुली–बर्दिबास खण्डका तीन भाग सञ्चालनमा आएका थिए । यसपालि क्षति पुगेको नेपालथोक–धुलिखेल करिब चार किलोमिटर खण्ड पनि पुनः सञ्चालनमा आइसकेकाले अहिले अवरोध नरहेको उनले जनाइन् ।

यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले स्थल निरीक्षण गर्दै द्रुत गतिमा काम सम्पन्न गर्न निर्देश दिएका थिए । उक्त निर्देशनपछि बिहीबार रातिसम्म पनि निर्माण कार्य जारी रहेको थियो ।

गत वर्ष असोजमा आएको बाढीले नेपालथोकदेखि चौकीडाँडासम्मको २२ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भाग रोशीखोलाले बगाएको थियो । प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि तीन छुट्टाछुट्टै खण्डमा विभाजन गर्दै ठेक्का सम्झौता भइसकेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २४, शुक्रबार १२:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP