मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गुगलले सार्वजनिक गर्यो सुनुवार लिपिको ‘नोटो फन्ट’

4.1K
SHARES
गुगलले सार्वजनिक गर्यो सुनुवार लिपिको ‘नोटो फन्ट’

काठमाडौं । गुगलले सुनुवार भाषाको मौलिक लिपिका लागि विशेषगरी तयार पारेको डिजिटल फन्ट ‘नोटो स्यान्स सुनुवार’ सार्वजनिक गरेको छ । अबदेखि सुनुवार भाषामा डिजिटल सामग्री लेख्न, पढ्न र सहज रूपमा प्रदर्शन गर्न सम्भव भएको छ । यसले वेबसाइट, मोबाइल एप, ई–बुक, सफ्टवेयर वा अन्य सूचना प्रविधि प्रणालीमा सुनुवार भाषाको प्रयोगलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ ।

गुगलको ‘नोटो’ फन्ट परिवार विश्वका विविध भाषा र लिपिहरूलाई समेटेर डिजिटल पहुँच बढाउने उद्देश्यले विकसित गरिएको हो । हालसम्म २११ भन्दा बढी लिपिहरू नोटो परियोजनामा समावेश भइसकेका छन्, र सुनुवार लिपिको समावेशसँगै नेपालभित्रको भाषिक विविधतालाई अन्तर्राष्ट्रिय प्रविधि प्रणालीले औपचारिक रूपमा चिन्न थालेको छ ।

‘नोटो स्यान्स सुनुवार’ फन्टमा सरलता, आधुनिकता र पठनीयता मुख्य विशेषता हुन् । यो फन्ट मुख्यतः वेबपेज, मोबाइल एप्लिकेसन, अफिस कागजात, पाठ्यपुस्तक वा अन्य डिजिटल सामग्री निर्माणमा उपयुक्त मानिन्छ ।

प्रयोग विस्तार हुँदै
हाल यो फन्ट एप्पलका उपकरणहरू (जस्तैः म्याकबुक, आइफोन) र वेब संस्करणहरूमा उपलब्ध भइसकेको छ । गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टममा यसलाई समावेश गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ, भने माइक्रोसफ्ट विन्डोज प्रणालीका लागि पनि छुट्टै विकास कार्य प्रारम्भ भएको छ ।

यससँगै, सुनुवार भाषा टाइप गर्न प्रयोग हुने सुनुवार कीबोर्ड एन्ड्रोइडमा पहिलेदेखि नै उपलब्ध भए पनि आइओएस उपकरणका लागि त्यसको विकास अझै जारी रहेको बताइएको छ ।

भाषा र प्रविधिबीचको सेतु
यस प्रोजेक्टलाई मूर्तरूप दिन धेरै पक्षको सक्रियता रह्यो । विशेषगरी, देवकुमार सुनुवारको दीर्घकालीन पहलले यसमा निर्णायक भूमिका खेलेको छ । उनले भाषिक अधिकार, प्रविधिको पहुँच र लिपिको मान्यता सम्बन्धी अभियानमा निरन्तर अग्रसरता देखाउँदै आएका छन् ।

त्यसैगरी, सुनुवार सेवा समाजका निवर्तमान अध्यक्ष रणवीर सुनुवार, सुसेस टिम, युनिकोड ट्रान्सलेसन कमन टिम, लिपि डिजाइनर जाम्र पटेल, युनिकोड चेयरपर्सन साथै विभिन्न कम्प्युटर इञ्जिनियर तथा भाषाविद्हरूको समन्वयले यो प्रोजेक्टलाई पूर्णता दिएको हो ।

समुदायका लागि नयाँ ढोका
यो फन्टले न केवल डिजिटल प्रयोगलाई सहज बनाउँछ, तर शिक्षा, अनुसन्धान र अभिलेखीकरणका काममा पनि ठुलो टेवा पुर्‍याउनेछ । नयाँ पुस्ताले आफ्नै भाषामा प्रविधिसँग अन्तर्क्रिया गर्न सक्ने वातावरण सिर्जना हुँदैछ, जुन भाषिक अधिकार र सांस्कृतिक संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण उपलब्धि हो ।

 

सुनुवार लिपि फन्ट कम्प्युटरमा डाउनलोड गरि प्रयोग गर्न सकिनेछ :

https://fonts.google.com/selection?query=Sunuwar



अगुल्टो अगुल्टो   
  • २०८२ असार ३१, मंगलवार ११:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP