मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेरो कारणले महानगरको बजेट रोकिनु हुँदैनः गुरागाईं

3.2K
SHARES
मेरो कारणले महानगरको बजेट रोकिनु हुँदैनः गुरागाईं

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले महानगरको बजेट आफ्नै कारणले रोकिनु नहुने स्पष्ट पारेका छन् । आइतबार केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले महानगरबासीको हितविपरीत कुनै कार्य नगर्ने अडान पुनः दोहोर्याए ।

‘म बजेट आउनुपर्छ भन्ने पक्षमा छु,’ गुरागाईंले भने, ‘मेयर साहेब, उपमेयर तथा अन्य जनप्रतिनिधिको निर्णयहरूमा बाधक बन्ने मनसाय मेरो छैन ।’

हाल महानगरको आगामी आर्थिक वर्षको बजेट ढिलाइ भएको छ । यसलाई मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृतबीचको मतभेदसँग जोडिएको देखिन्छ । त्यसमाथि, काठमाडौं टावरसम्बन्धी विवादले थप जटिलता ल्याएको छ ।

तर गुरागाईंले बजेट र टावरको विषयलाई जोड्नै नहुने बताए । ‘यी दुई छुट्टाछुट्टै प्रकृतिका विषय हुन् । कसैले मलाई ‘भ्रष्टाचारी’ भनेर आरोप लगाएको भरमा म दोषी हुँ भन्ने हुँदैन,’ उनले भने ।

गुरागाईंको भनाइमा, उनलाई आरोपित गर्ने अधिकारिक निकाय अदालत वा अख्तियारजस्ता संवैधानिक निकाय हुन सक्छन्, मेयरको सचिवालय होइन । ‘सचिवालयको हवाला दिँदै कसैलाई भ्रष्टाचारी करार गर्नु कत्तिको औचित्यपूर्ण छ ? अनुसन्धान गरिरहेकै निकायबाट होइन, सचिवालयबाटै आरोप आउनु शंकास्पद छ,’ गुरागाईंले प्रश्न उठाए ।

काठमाडौं टावरसम्बन्धी विवादमा आफूमाथि लागेका आरोपको खण्डन गर्दै गुरागाईंले त्यसमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको जिकिर गरे । ‘मैले कुनै नयाँ निर्णय लिएको होइन, विगतमा भएका निर्णयहरूको आधारमा मात्रै इन्डोर्स गरेको हुँ,’ उनले स्पष्ट पारे, ‘नक्शा स्वीकृत गर्ने क्रममा पनि मैले प्रक्रिया अनुरूप प्रमाणपत्र दिएको मात्र हुँ ।’

गुरागाईंले आफूमाथि लागेको आलोचना नियोजित ढंगले आएको संकेत गरे । तथापि, यदि कानुनी प्रक्रियाबाट आफ्नो गल्ती प्रमाणित भए, कारबाही भोग्न तयार रहेको बताए । ‘नियम, कानुन र प्रक्रियाको आधारमा म दोषी ठहरिएँ भने, त्यसको परिणाम स्वीकार्छु । तर अहिले जसरी अनावश्यक आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास भइरहेको छ, त्यो गलत हो,’ गुरागाईंको भनाइ थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २२, आईतवार १०:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP