मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इरानी विदेशमन्त्रीको संकेत : ‘इसराइलसँगको १२ दिने युद्ध अब समाप्त’

2.1K
SHARES
इरानी विदेशमन्त्रीको संकेत : ‘इसराइलसँगको १२ दिने युद्ध अब समाप्त’

काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इसराइलसँग पछिल्लो १२ दिनदेखि जारी सैन्य झडप सकिएको संकेत गरेका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्विटर) मा लेख्दै इरानी सेनाको प्रतिक्रियालाई अन्तिम क्षणसम्म कायम राखेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

‘हाम्रो शक्तिशाली सेनाले इसराइलको आक्रमणको जवाफ बिहान ४ बजेसम्म दिइरह्यो,’ उनले पोस्टमा लेखे, ‘यस अन्तिम क्षणसम्म देशको सुरक्षामा समर्पित सबै सुरक्षाकर्मीहरूलाई म धन्यवाद दिन चाहन्छु ।’

यसअघि अराघचीले तेहरानको समय अनुसार बिहान ४ बजेसम्म इसराइली आक्रमण रोकिएमा इरानले पनि जवाफी कारबाही नगर्ने बताएका थिए। उल्लेखनीय छ, तेहरान इसराइलभन्दा झण्डै आधा घण्टा अगाडि पर्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्धविरामको पुष्टि गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘इसराइल र इरान पूर्ण युद्धविराममा सहमत भएका छन् ।’

यो युद्धविरामको घोषणा इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि आएको हो । ट्रम्पका अनुसार, इरानले कुल १४ वटा मिसाइल प्रहार गरेकोमा १३ वटा अमेरिकी सुरक्षा प्रणालीले रोकिदिए । कुनैपनि अमेरिकी सैनिकलाई क्षति नभएको ट्रम्पको दाबी छ । उनले इरानले अमेरिकी पक्षलाई पहिले नै सूचित गरेर आक्रमण गरेको समेत उल्लेख गरेका छन् ।

यस घटनालाई विश्लेषकहरूले ‘प्रतिकात्मक जवाफ’ भनेका छन् — अमेरिकी आणविक केन्द्रहरूमा भएको आक्रमणको बदलामा जनताको आक्रोश साम्य पार्न इरानले यो रणनीतिक प्रहार गरेको आकलन गरिएको छ ।

न्युयोर्क टाइम्स का अनुसार, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यो अवस्थालाई ‘युद्धको अन्त्यतर्फको संकेत’ भन्दै ‘शान्ति प्रक्रियाको थालनीको अवसर’ भनेका छन् । टाइम्सले तीनजना कूटनीतिक स्रोतलाई उद्धृत गर्दै कतारले युद्धविरामको वार्ता सफल पार्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १०, मंगलवार ०४:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP