मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै, मोदीसँग सोमबार द्विपक्षीय वार्ता

312
SHARES
प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै, मोदीसँग सोमबार द्विपक्षीय वार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज (आइतबार) भारत प्रस्थान गर्दै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली जान लागेका हुन् ।

प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल वायु सेवा निगमको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन् । नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट राजदूतसहित केही अधिकारी पनि भ्रमण टोलीमा जोडिनेछन् ।

भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार प्रधानमन्त्री शाह स्थानीय समयअनुसार दिउँसो ३ः१५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ मा अवतरण गर्नेछन् । विमानस्थलमा उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ ।

दिल्ली पुगेकै दिन आइतबार साँझ ६ः०० बजे प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछन् । ताजमहल होटलमा हुने उक्त भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहयोगका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

मोदीसँग सोमबार महत्त्वपूर्ण भेटवार्ता
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहका विभिन्न उच्चस्तरीय भेटघाट तथा औपचारिक कार्यक्रम तय भएका छन् । बिहान १०ः०० बजे राष्ट्रपति भवनमा उनको औपचारिक स्वागत गरिनेछ । त्यसपछि बिहान १०ः४० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर उनले श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

प्रधानमन्त्री शाहले सोमबार बिहान ११ः०० बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । दुई नेताबीच हुने वार्तालाई नेपाल–भारत सम्बन्धका आगामी प्राथमिकता निर्धारण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

भेटवार्तामा दुई देशबीचको राजनीतिक, आर्थिक, व्यापारिक तथा विकास साझेदारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । विशेषगरी पूर्वाधार विकास, ऊर्जा, व्यापार, पारवहन, सीमा व्यवस्थापन तथा आपसी हितका विषयले प्राथमिकता पाउने सम्भावना छ ।

दुई प्रधानमन्त्रीबीचको छलफलपछि दिउँसो १२ः२५ बजे विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने र दुबै पक्षबाट प्रेस वक्तव्य जारी गरिने कार्यतालिका रहेको छ । यसबाट भ्रमणका क्रममा भएका सहमति तथा द्विपक्षीय सहयोगका नयाँ क्षेत्रबारे जानकारी सार्वजनिक गरिनेछ ।

त्यसपछि सोमबार दिउँसो ३ः१५ बजे प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्नेछन् ।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह सोमबार साँझ ४ः५० बजे प्रतिनिधिमण्डलसहित स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल र भारतबीचको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ । दुई देशबीच खुला सीमा, व्यापार, ऊर्जा, पारवहन, कनेक्टिभिटी र जनस्तरको सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणले आपसी विश्वास र सहकार्यलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।

त्यसैगरी, प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमण भएकाले यसलाई वर्तमान सरकारको विदेश नीतिको प्राथमिकता र छिमेकी मुलुकसँगको सम्बन्ध सञ्चालनको दृष्टिकोण प्रस्तुत गर्ने अवसरका रूपमा समेत हेरिएको छ । भ्रमणबाट हुने सहमति तथा समझदारीले आगामी दिनमा नेपाल–भारत सहकार्यका नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ मंसिर ७, आईतवार ००:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP