मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएल: लुम्बिनीको धमाकेदार सुरुवात, उद्घाटन खेलमा सुदूरपश्चिम ७ विकेटले पराजित

117
SHARES
एनपीएल: लुम्बिनीको धमाकेदार सुरुवात, उद्घाटन खेलमा सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको उद्घाटन खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै लुम्बिनीले उपाधि रक्षा अभियानको सुखद सुरुवात गरेको हो ।

सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले १०औँ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा ओपनर डार्शी शर्ट र आसिफ शेखले उत्कृष्ट ब्याटिङ गरे ।

आक्रामक शैलीमा प्रस्तुत भएका शर्टले ४ चौका र ३ छक्काको सहयोगमा ४० रन बनाए । त्यस्तै, यसै सिजन जनकपुरबाट लुम्बिनीमा आबद्ध भएका आसिफले ३२ रनको महत्त्वपूर्ण योगदान दिए ।

आसिफ टोलीलाई जितका लागि ६ रन आवश्यक हुँदा आउट भएका थिए । उनलाई खरेलले दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराएका थिए । पहिलो संस्करणमा जनकपुरको मार्की खेलाडी रहेका आसिफले लुम्बिनीबाट आफ्नो पहिलो खेलमै प्रभावशाली प्रदर्शन गरेका हुन् ।

लुम्बिनीका निरोशन डिकवेला ७ रन बनाएर दीपेन्द्रको बलमा बोल्ड भए । त्यसपछि शामिम हुसेन १ र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहँदै टोलीलाई जित दिलाए ।

किशोर र शेरको घातक बलिङमा सुदूरपश्चिम धराशायी
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले लुम्बिनीका बलरसामु कमजोर प्रदर्शन गर्‍यो । टोली १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो ।

लुम्बिनीका किशोर महतो र शेर मल्लले उत्कृष्ट बलिङ गर्दै सुदूरपश्चिमको ब्याटिङ क्रम ध्वस्त पारे । किशोरले ४ विकेट लिँदा शेरले ३ विकेट आफ्नो नाममा लेखाए ।

किशोरले २८ रन खर्चिए भने शेरले ४ ओभरमा मात्र ११ रन दिए । त्यसैगरी साड्ली भान स्कालविक, तिलक भण्डारी र कप्तान रोहित पौडेलले समान एक–एक विकेट लिए ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । उनले २३ बलमा २ चौका प्रहार गरे। ओपनर सैफ जैवले १३ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विनोद भण्डारीले ९ र इशान पाण्डेले ७ रन बनाए । शीर्षक्रमदेखि मध्यक्रमसम्मका ब्याटर चल्न नसक्दा सुदूरपश्चिमले लुम्बिनीसामु ठूलो लक्ष्य प्रस्तुत गर्न सकेन ।

फाइनलको हारको बदला लिन फेरि चुक्यो सुदूरपश्चिम
तेस्रो संस्करणको पहिलो खेलमा अघिल्लो सिजनका दुई फाइनलिस्ट आमनेसामने भएका थिए । तर, सुदूरपश्चिमले यसपटक पनि लुम्बिनीविरुद्ध जित निकाल्न सकेन ।

दोस्रो संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । उक्त खेलमा सुदूरपश्चिमले ८६ रनको लक्ष्य दिएको थियो, जुन लुम्बिनीले ६६ बल बाँकी रहँदै पूरा गरेको थियो ।

करिब साढे १० महिनापछि पुनः भएको भेटमा पनि लुम्बिनीले सुदूरपश्चिममाथि आफ्नो दबदबा कायम राख्यो । लगातार दोस्रो महत्त्वपूर्ण भेटमा सुदूरपश्चिमलाई हराएसँगै लुम्बिनीले नयाँ सिजनमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

मंगलबार दुई खेल हुने
एनपीएलको तेस्रो संस्करणअन्तर्गत मंगलबार दुई खेल सञ्चालन हुनेछन् ।

पहिलो खेल दिउँसो १२ः३० बजे विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । दोस्रो खेलमा साँझ ५ः०० बजे कर्णाली याक्स र जनकपुरबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तालिका रहेको छ ।

 



अगुल्टो अगुल्टो   
  • २०८३ कार्तिक ११, मंगलवार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP