मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने

455
SHARES
असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी २३ असोजदेखि खुला हुने भएको छ । चाडपर्वमा काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले सहज र व्यवस्थित यात्रा सुनिश्चित गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायसँग छलफल गरी यस्तो निर्णय गरेको हो ।

मंगलबार यातायात व्यवस्था विभागमा भएको उच्चस्तरीय बैठकमा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधि सहभागी थिए ।

बैठकपछि अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दिपक केसीले २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको जानकारी दिए । उनका अनुसार चाडपर्वका बेला यात्रुको चाप अत्यधिक हुने भएकाले समयमै टिकट व्यवस्थापन र यातायात सञ्चालनको तयारी थालिएको हो ।

यस वर्षको दशैंमा मात्रै १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ । हाल केही यातायात कम्पनीले मात्र अनलाइनमार्फत टिकट बुकिङ गरिरहेका कारण यात्रुमा अन्योल देखिँदै आएको थियो । विभागको निर्णयसँगै अग्रिम टिकट बुकिङलाई व्यवस्थित र एकरूप बनाउने अपेक्षा गरिएको छ ।

लामो दूरीका बसमा दुई चालक अनिवार्य
बैठकले लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको सुरक्षा व्यवस्थामा पनि विशेष ध्यान दिने निर्णय गरेको छ । अब लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था कार्यान्वयन गरिने भएको छ ।

यात्रुको विवरण व्यवस्थित राख्न टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख गर्नुपर्नेछ । त्यस्तै, टिकट काउन्टरमा खटिने कर्मचारीले परिचयपत्रसहित तोकिएको युनिफर्म लगाउनुपर्ने निर्णय गरिएको छ ।

चाडपर्वको समयमा यात्रुको चाप बढेसँगै टिकटमा हुने सम्भावित अनियमितता रोक्न पनि सम्बन्धित निकायले निगरानी बढाउने भएका छन् । तोकिएको भन्दा बढी भाडा असुल गर्ने, टिकटमा कालोबजारी गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायी तथा व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने विभागले जनाएको छ ।

यात्रु सुरक्षाका लागि केन्द्रीय सूचना केन्द्र
यात्राका क्रममा राजमार्गमा हुने दुर्घटना, सडक अवरोध तथा अन्य समस्याबारे तत्काल सूचना आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याइने भएको छ ।

त्यस्तै, यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण तथा पिउने पानीलगायतका आधारभूत सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ । लामो दूरीको यात्रामा यात्रुको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक तयारी गर्न व्यवसायीलाई निर्देशन दिइने भएको छ ।

दशैंको समयमा नयाँ बसपार्क तथा अन्य प्रमुख बसपार्कमा यात्रुको अत्यधिक भीड हुने भएकाले टिकट काउन्टर र बस चढ्ने स्थानमा समेत विशेष व्यवस्थापन गरिनेछ । टिकट नपाउने, बढी भाडा तिर्नुपर्ने तथा भीडका कारण यात्रुले सास्ती भोग्नुपर्ने अवस्था आउन नदिन सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गरिने बैठकमा सहभागीहरूले बताएका छन् ।

सरकार, यातायात व्यवसायी, श्रमिक संगठन तथा सुरक्षा निकायबीच समन्वय गरी दशैं–तिहार तथा छठ अवधिको सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउने प्रतिबद्धता बैठकमा व्यक्त गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २०, मंगलवार ०७:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP