मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय कार्यसमिति बैठक, असोज २२ मा मतदान

481
SHARES
कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय कार्यसमिति बैठक, असोज २२ मा मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । खुलामञ्चमा नेताहरू भेला भएपछि बैठक अघि बढाइएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उनका अनुसार बन्दसत्रमा पेस हुने विभिन्न प्रतिवेदन र प्रस्तावलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन गरेपछि मात्रै बन्दसत्र सञ्चालन गरिनेछ । महाधिवेशनअन्तर्गत विभिन्न समितिले तयार पारेका प्रस्ताव बैठकमा पेस गर्ने र त्यसलाई आवश्यक छलफलपछि अनुमोदन गरिने उनले बताए ।

बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ । बन्दसत्रमा पार्टीका राजनीतिक, सांगठनिक तथा समसामयिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

बन्दसत्र सम्पन्न भएपछि नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ । निर्वाचन समितिले सोमबार साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार साँझ ५ बजेदेखि ६ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबीविरोध गर्न सकिनेछ । त्यसपछि ६ः३० देखि ७ः३० बजेसम्म दाबीविरोधमाथि छानबिन गरिनेछ भने राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।

असोज २० गते उम्मेदवारी दर्ता
निर्वाचन कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ । सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।

४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारीमाथि दाबीविरोधको समय तोकिएको छ । ५ः३० देखि ६ः३० बजेसम्म दाबीविरोधमाथि छानबिन गरिनेछ भने साँझ ७ बजे उम्मेदवारको दोस्रो नामावली सार्वजनिक हुनेछ ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन तथा उम्मेदवारी सच्याउन निवेदन दिन सकिनेछ । त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउनेछन् ।

असोज २२ मा मतदान
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका लागि असोज २२ गते मतदान हुने भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ ।

मतदानका लागि तीन स्थानमा केन्द्र तोकिएको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् ।

खुलामञ्चमा कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसहित भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ ।

त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् ।

मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । नयाँ केन्द्रीय कार्यसमितिका लागि सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा निर्वाचन हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १९, सोमबार ०५:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP