मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, खुलामञ्चमा उद्घाटन हुँदै

455
SHARES
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, खुलामञ्चमा उद्घाटन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (असोज १८ गते) देखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो २ः०० बजे टुँडिखेलस्थित खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ । यसअघि असोज १६ गतेदेखि गर्ने भनिएको महाधिवेशन भारी वर्षाका कारण केही क्षेत्रको अधिवेशन तथा प्रतिनिधि छनोट प्रक्रिया प्रभावित भएपछि दुई दिनपछि सारिएको थियो ।

ऐतिहासिक टुँडिखेलमा हुन लागेको महाधिवेशनलाई कांग्रेसले राजनीतिक र संगठनात्मक रूपमा महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ । यही स्थलमा कांग्रेसका संस्थापक नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलन सफल भएको घोषणा गरेका थिए । महाधिवेशनको उद्घाटन पार्टी सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासँगै विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूलाई पनि सम्बोधनका लागि आमन्त्रण गरिएको छ ।

महाधिवेशनमा देशभरबाट सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ । प्रवक्ता देवराज चालिसेका अनुसार यसपटकको महाधिवेशनमा नयाँ पुस्ताको उल्लेख्य सहभागिता रहेको छ । वडा तहदेखि विभिन्न चरणमा भएको अधिवेशन प्रक्रियाबाट ठूलो संख्यामा युवा नेतृत्वमा आएका कारण यस महाधिवेशनलाई पुस्तान्तरणको दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ ।

कांग्रेसका अनुसार ३५ वर्षमुनिका युवासहित लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत क्षेत्र र विदेशमा रहेका नेपालीलाई समेत पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्वको अवसर दिने व्यवस्था गरिएको छ । ‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’लाई महाधिवेशनको मूल मन्त्र बनाइएको छ । छलफलमार्फत पार्टीको आगामी नीति, कार्यक्रम र कार्यान्वयनको खाका तय गर्ने तयारी कांग्रेसको छ ।

पार्टी प्रवक्ता चालिसेले महाधिवेशनलाई केवल नेतृत्व चयनमा सीमित नगरी संगठनभित्र विधि र पद्धतिको विकास गर्ने अवसरका रूपमा अघि बढाइने बताएका छन् । उनका अनुसार कांग्रेसको विगतको राजनीतिक विरासतलाई भविष्यको नीति र कार्यक्रमसँग जोड्दै समृद्धिको वैचारिक आधार निर्माणमा समेत महाधिवेशन केन्द्रित हुनेछ ।

महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको थियो । प्रतिनिधिले सहभागिता दर्ताका लागि तीन हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । देश तथा विदेशबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी रहेकाले महाधिवेशनस्थलमा चहलपहल बढेको छ ।

प्रतिनिधिहरूको आवास व्यवस्थापनका लागि प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट संयोजक तोकिएको छ । आवाससम्बन्धी विवरण ह्वाट्सएप, एआई नम्बर तथा एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको आवास व्यवस्थापन समितिले जनाएको छ ।

उद्घाटन समारोहपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ । प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिहरूलाई समूहमा विभाजन गरी तीन फरक हलमा छलफल गराइनेछ । डिजिटल बोर्डमार्फत प्रतिनिधिहरूले प्रतिवेदन हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ ।

महाधिवेशनसँगै कांग्रेसको आगामी नेतृत्व चयन प्रक्रिया पनि अघि बढ्नेछ । निर्वाचन समितिले असोज १९ गते दिउँसो २ः०० बजेदेखि ६ः०० बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ । उम्मेदवारी दर्ता राष्ट्रिय सभागृहमा हुनेछ । निर्वाचनसम्बन्धी कार्यक्रम आवश्यकताअनुसार संशोधन हुनसक्ने समितिले जनाएको छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका सवारीसाधन व्यवस्थापनका लागि पनि छुट्टै पार्किङ क्षेत्र तोकिएको छ । निजी कार तथा मोटरसाइकलका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ भने ठूला बसका लागि माइतीघरदेखि भद्रकालीसम्मको एक लेन प्रयोग गरिनेछ ।

महाधिवेशनका गतिविधि तथा निर्णयबारे नियमित जानकारी दिन खुलामञ्चमै मिडिया सेन्टर स्थापना गरिएको छ । महाधिवेशन अवधिभर सूचना अद्यावधिक तथा सञ्चारकर्मीसँग ब्रिफिङ गर्ने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १८, आईतवार ००:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP