मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा खिजिदेम्बा गाउँपालिकाको तीन दिने एकीकृत सेवा शिविर सुरु

182
SHARES
काठमाडौंमा खिजिदेम्बा गाउँपालिकाको तीन दिने एकीकृत सेवा शिविर सुरु

काठमाडौं । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाले काठमाडौंमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गर्दै तीन दिने एकीकृत सेवा शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले सोमबारदेखि काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा शिविर सञ्चालन गरेको हो ।

आजबाट सुरु भएको कार्यक्रममा साउन २७ गतेसम्म सञ्चालन हुने शिविर बिहान ११ बजेदेखि सुरु हुने गाउँपालिकाले जनाएको छ । काठमाडौंमा रहेका खिजिदेम्बावासीलाई गाउँपालिकाबाट उपलब्ध हुने विभिन्न सेवा–सुविधा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

शिविरसँगै सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रमसमेत आयोजना गरिएको छ । कार्यक्रममा स्थानीयवासीका समस्या, गुनासा, सुझाव तथा अपेक्षाबारे प्रत्यक्ष रूपमा जानकारी लिने र गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ ।

कार्यक्रमको अध्यक्षता खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले गरेका छन् । कार्यक्रममा संघीय सांसद विश्वराज पोखरेल, कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवारलगायत गाउँपालिकाका उपाध्यक्ष सुशिला तामाङ तथा वडा नं. १ देखि ९ सम्मका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो ।

गाउँपालिकाका प्रतिनिधिहरूले काठमाडौंमा बसोबास गरिरहेका नागरिकलाई गाउँपालिकाबाट प्राप्त गर्नुपर्ने सेवा लिन गाउँसम्म पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताएका छन् । नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका आवश्यकता र समस्यालाई गाउँपालिकाको आगामी योजना तथा कार्यक्रममा समेट्नसमेत शिविर उपयोगी हुने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले काठमाडौंमा रहेका सम्पूर्ण खिजिदेम्बावासीलाई शिविरमा उपस्थित भई उपलब्ध सेवा लिन तथा आफ्ना सुझाव, गुनासा र अपेक्षा राख्न आग्रह गरेको छ । गाउँपालिकाले नागरिकको सहभागिताले स्थानीय सरकार र नागरिकबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २५, सोमबार १३:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP